अर्थकृषि

जापान छाडेर गाउँमा बाख्रापालन : ‘विदेशमाजस्तो दुःख गरे स्वदेशमै कमाउन सकिन्छ’

गाउँ छाडेर जापान जाने बागलुङको गलकोटे युवाहरूको जमातका बीच एक युवाले जापानको बसाइ छोट्याएर गाउँ फर्केर बाख्रापालनमा लाग्नुभएको छ । गलकोट नगरपालिका–५ भैँसे बाँसबारीका रमेश बस्नेत आठ वर्षको जापान बसाइ टुङ्ग्याएर बाख्रापालन व्यवसाय थाल्नुभएको हो ।

गाउँका युवाको लहैलहैमा जापान पुगेका उहाँ अहिले पुन गाउँमै फर्केर पेशा व्यवसायमा रमाउन थाल्नुभएको हो । आठ वर्ष अगाडि विद्यार्थी भिसामा जापान पुग्नुभएका उहाँले त्यहाँ विभिन्न दुःखकष्ट सहनुपर्यो ।

विदेशमा निकै दुःख गर्नुभएका उहाँले अहिले गलकोट–९ गल्याङमा व्यावसायिक बाख्रापालन सुरु गर्नुभएको छ । उहाँले व्यवस्थित खोर बनाएर अहिले माउ बाख्रा र पाठापाठीको व्यवस्थापन गर्दै हुनुहुन्छ ।

व्यवसायी बस्नेतले प्रविधिक शिक्षा हासिल गरे पनि पेशा भने किसानको अँगाल्नुभएको छ । पोखरा इञ्जीनियरिङ कलेजबाट डिप्लोमा इञ्जीनियरिङ अध्ययन गर्नुभएका उहाँले पढाइ र पेशा भन्ने विषय फरक भएको बताउनुहुन्छ ।

“पढाइ र पेशा भन्ने विषय हाम्रोजस्तो मुलुकमा नितान्त फरक छ, पढाइअनुसारको जागिरको ग्यारेन्टी छैन, दुःख गरेर पढ्यो, कि त विदेशिनुपर्छ कि अरु कुनै पेशा समात्नु पर्छ”, उहाँले भन्नुभयो, “ म इञ्जीनियर हुँ, यसअनुसारको जागिर पाउन मुस्किल पर्छ ।”

उहाँले गल्याङगाउँमा रु ६० लाख लगानीबाट बोयरजातका बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । उहाँको फार्ममा अहिले साना–ठूला गरी ३३ बाख्रा छन् । बाख्रापालनमा भविष्य खोजिरहनुभएका ३२ वर्षीय बस्नेत डिप्लोमा इञ्जीनियरिङ अध्ययनपश्चात विदेश जानुभएको थियो ।

फार्म स्थापना गरेको ठाउँ बाख्रापालनका लागि अति उपयुक्त छ र घाँसपातको राम्रो व्यवस्था भएको उहाँको भनाइ छ । उहाँले भन्नुहुन्छ “ विदेशमाजस्तो दुःख गाउँ गरे यहाँ पनि मनग्य आम्दानी गर्न सकिन्छ । ” बताउनुहुन्छ । व्यवसायी बस्नेतले आफू सुरुमा साथीहरूको लहलहैमा लागेर जापान गएको जनाउँदै अब आफू गाउँमै उद्यमी बन्ने बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.