बिचार

नेपाली राजनीतिको सिद्धान्त- भ्रम छर्ने र मुर्ख बनाउने

धेरै पहिले एकजना शीर्षतहका नेताले भनेका थिए– “मुलुकमा जति बेथिति भित्र्याउन सकिन्छ, जति भाँडभैलो मच्चाउन सकिन्छ हाम्रो उद्देश्य प्राप्तिका लागि त्यति नै सजिलो हुन्छ ।” उनको भनाइको तात्पर्य देशलाई विकासको गतिमा अघि बर्ढा, जनताको जीवनस्तर सुधारिए, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्र विकसित जनता जागरुक हुन्छन् अनि नाराको पछि लाग्न छाड्छन् भन्ने थियो ।

जनतालाई जति भ्रममा राख्न सक्यो आफ्नो राज उति बलियो हुने र स्थापित हुने मान्यता राख्ने जमातहरुले अहिले पनि देश र जनताको नाममा भ्रम छरेर, जनतालाई मूर्ख बनाएर शासन गरिरहेका छन् । यो शासनशैली परापूर्वकालदेखि विश्वभर चलिरहेको थियो र अहिले पनि छ ।

चिनीया सम्राटहरुको सिद्धान्त थियो– “जनतालाई भ्रममा राख अनि शासन गर” । अनि कतिपय युरोपेली देशका शासकहरु “जनतालाई मुर्ख बनाएर शासन गर” भन्थे । नेपालमा यी दुबै शैली अपनाइएको छ । नेपाली माटो सुहाउँदो शासनशैली छाडेर विदेशी नेताका तस्वीर पूजेर उनीहरुकै सिद्धान्त अँगाल्नेहरुले भ्रममा राख्ने र मूर्ख बनाउने बाहेक केही गरेनन् ।

अहिले जनतालाई भ्रममा राख्नुपर्छ भन्ने, जनतालाई मूर्ख बनाउनुपर्छ भन्नेहरु हरेक कुरामा जनतालाई झुक्याइरहेका छन्, मुर्ख बनाइहेका छन् । आफ्ना कार्यकर्ताहरुलाई विपक्षीलाई गाली मात्र गर्न लगाउने र आफूहरुको एकोहोरो तारिफ मात्रै गर्न लगाएर जनतालाई उल्लु बनाइरहेका छन् । लोकतान्त्रिक शासनको नाममा चलिरहेको खेल यही हो ।

सत्तामा नपुग्दासम्म संविधान, विधि, कानुन, लोकतन्त्रको नारा घन्काउने अनि सरकारमा पुगेपछि ती सबै बिर्सने, सत्ता बाहिर रहँदा राष्ट्रियताका चर्का कुरा गरेर जनतालाई आकर्षित गर्ने तर सत्तामा पुगेपछि लम्पसार पर्ने चरित्र शासकहरुमा रहँदासम्म देश विकास हुँदैन मात्र हैन देश विस्तारै पराइको कब्जामै जान बेर लाग्दैन ।

यहाँ आफू काम गर्न नसक्ने अनि विगतका सरकारहरुलाई गाली गरेर, दोषी देखाएर वहालवाला सरकार जोगिन, चोख्खिन र विकासको अभियानकारी बन्न खोज्ने देखिन्छ, तर काम भने सिन्को भाँचिएको हुँदैैन । परिवर्तनका लागि सरकारले आफूलाई अरुलेभन्दा फरक काम गरेर देखाउनुपर्छ । एकल दललाई गाली गर्ने अर्को दलले आफूलाई अरुभन्दा पृथक देखाउन गाली गरेर ठीक सावित गर्ने हैन आफूलाई व्यवहारमै सही बनाउनुपर्छ । एक नेताले अर्को नेतालाई गाली गरेर आफू सच्चा देशभक्त भनाउने र प्रायोजित समूहबाट ताली बजाउन लगाउने हैन, आफैं सही र देशभक्त हुनुपर्छ । अनि मात्र देशमा लोकतन्त्रको मर्म, भावनाा र सिद्धान्त स्थापित हुन्छ ।

तर, नेपालमा केही गर्न पनि नसक्ने, गर्नै नचाहने, अनि आफूलाई फरक देखाउन अरुलाई तल्लोस्तरमा पुगेर गाली गर्ने र त्यसमा बजेको तालीमा रमाएर देश र जनतालाई झुक्साइरहने संस्कृति भ्रमको संस्कृति हो, लोकतन्त्रको नाममा आपसमा आरोप–प्रत्यारोप गरेर जनतालाई त्यसैमा अल्झाइरहने, मूर्ख बनाइरहन राजनीति नै देशका लागि विडम्बना हो ।

उल्लु कसरी बनाइरहेका छन् भन्ने सन्दर्भमा एउटा सानो उदाहरण सोच्ने क्षमता नै स्खलित बनाइदिनु हो । हामीकहाँ कुनै पनि विषयमा सूक्ष्म र स्वतन्त्र ढंगले सोच्ने क्षमता नै विकसित हुन दिइएको छैन, विश्वविद्यालयका विद्यार्थी पार्टीकै कार्यकर्ता, बौद्धिक जगतको जमात पार्टीकै कार्यकर्ता, वकिलहरु त्यस्तै, संचारकर्मीहरु दलकै कार्यकर्ता, राज्य कोषबाट तलब, भत्ता, सुविधा खाने निजामती कर्मचारी समेत पार्टीकै कार्यकर्ता भएपछि स्वतन्त्र र सूक्ष्म रुपमा विचार गर्ने र सही र गलत छुट्याउने क्षमता नै राख्दैनन् । यही हो जनतालाई मुर्ख बनाउने र भ्रममा राख्ने र शासन गर्ने सिद्धान्त ।

देशमा बौद्धिक अभ्यास गर्ने, नयाँ नयाँ नीति, निर्माण गर्ने, देश विकासका सूत्रहरुको प्रतिपादन गर्ने बुद्धिजीवीहरु दलका नेताको दौराको फेर समातेर मात्रै आफूलाई बुद्धिजीवी बनाउन–भनाउन सक्छन् । सडकमा उनीहरुको मात्रै आवाज सुनिन्छ, उनीहरुको भाषणले मात्रै ताली पाउँछ । किनभने त्यो ताली बजाउने त्यस्तै दलका कार्यकर्ता हुन्छन्, उनीहरुलाई समर्थन गर्ने दलकै मान्छे हुन्छन् । एउटा स्वतन्त्र रुपमा आफ्नो बौद्धिक अभ्यास गरी राष्ट्रको विकासमा योगदान दिने क्षमता भएकाहरु सधैं पाखा पारिएका छन्, उनीहरु पत्रपत्रिकामा लेख–रचना प्रकाशन गरेरै आफूलाई चिनाइरहेका छन् ।

अनि नीति निर्माण गर्ने तहमा देशभक्त हैन पार्टीभक्त–नेताभक्तहरुको मात्र हालिमुहाली हुन्छ । उनीहरु आफ्नो पार्टी र नेताको बचावका लागि तथ्यांक–मिथ्यांक सबै बटुलेर जनतामा भ्रम छरिरहन्छन्, जनतालाई मूर्ख बनाइरहन्छन् र शासन लम्ब्याई रहन्छन् । आफूहरु मात्रै सही भएका र विगतका सब गलत थिए भनेर अरुलाई खुइल्याएर आफ्नो राजकाजको आयू बढाइरहन सफल हुन्छन् । यस्तो कुतर्क र भ्रमको जालोबाट पढेलेखेका भनिएकाहरु त मुक्त हुन सकेका छैनन् भने दूरदराजका अनपढ जनताले कसरी सही र गलत छुट्याउने ?

जनताको आकांक्षा, मुलुकको आवश्यकता र अन्तर्राष्ट्रिय परिस्थिति अनि विश्व भूराजनीतिक अवस्थाको कुनैख्याल नगरी लोकतन्त्र, जनतन्त्र, समाजवाद वा अन्य जुनसुकै नाममा शासनमा जूका जस्तै टाँस्सिएर बस्न रहर गर्नेहरु विधि, विधान, संविधान सबै तहसनहस पार्दै अरुलाई दोषी देखाएर आफू पवित्र भएको भ्रम छर्न सिपालु छन् ।

यसरी जनतालाई भ्रम छर्नेहरुले मुलुकको विकासका लागि, अस्तित्व रक्षाका लागि पिता पुर्खाको योगदान, त्याग र संघर्षलाई अपमानित गर्दछन् । राष्ट्र एकीकरणका नायकलाई सत्तोसराप गरेर विदेशी नेताका तस्वीरमा माला लगाउँछन् । पार्टी कार्यालयहरुमा तिनैका फोटो झुण्ड्याउँछन् । अनि उनीहरुका नारा भट्याउँदै जनतालाई भ्रममा राख्नछन् । देशको समृद्धिको नारा घन्काएर आफू, आफन्त र आसेपासेको समृद्धिको सोपान ठड्याउँछन् ।

छलछाम, भ्रम र झूठमा शासन गर्नेहरुको सिद्धान्त यही हो । नेपालवादी सिद्धान्त अपनाउने उनीहरुमा कुनै चाहना छैन । नेपालवादी सिद्धान्त अपनाए जनता जागरुक हुन्छन्, जनता जागे आफूहरुको खाइखुराकी बन्द हुन्छ, हुकुम चल्दैन भन्ने भ्रम पालेर देश चुसिरहेका छन् । अहिले कसले कति विकास गर्यो हैन कि कसले कति बढी जनतालाई भ्रममा राख्यो कसले कति अरुलाई गाली गरेर आफूलाई ठीक ठहर्याउने कोसिस गर्यो त्यसैमा उसको राजनीतिक भविष्य अडेको देखिन्छ । जुन मुलुकका लागि सर्वाधिक ठूलो विडम्बना यही हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button