‘बुमकार’को भीडमा हराउँदै पत्रकार
साँच्चै के भा होलान के आजकालका पत्रकारहरु ! हाम्ले त पैला पैला सुन्दा त के ! अरुलाई भाइरल गराउने काम पत्रकारको भन्थे । तर ऐलेका पत्रकार त सामाजिक सन्जालका नामाँ आँफै भाइरल बन्न र आँफै नाङ्गियानि था पाउन्नन त हँ ।
सामाजिक सन्जालाँ छ्याप्छ्याप्ति आको कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवरले भिमदत्त नपा १८ का वडाध्यक्ष रविन्द्र देवकोटासितको रस्साकस्सी हेर्दा त यिनी साँच्चिकै पत्रकार नभएर यौटी महान लडाकु, योध्दा जस्ती पो देखिन्छिन त हँ !
लोग्ने स्वास्नीको झगडालाई उचाल्नेदेखि सम्बन्ध विच्छेद गराइदिने अनि अपराधीदेखि निर्अपराधिसम्मलाई यौटै खाल्टाँ हाल्देर पैसा कमाउन र आफ्नो व्यापार व्यवसाय फस्टाउने खेलमा यै यौटा मोबाइल र बुमलाई पत्रकार मानेर पैशा कमाउन हिँडेका मान्छेको भीडमा ऐले को पत्रकार ? को बुमकार ? छुट्याउनै गारो छ ।
यस्तो अवस्थाँ पत्रकारिता गर्दै आफ्नो यात्राँ निरन्तर लागेका साथीहरु नि कैलेकाईँ तिनै बुमकारहरुको छायाँमा परेर विचलित भका घटना नि धेरै छन् । तर त्यस्ता भुल नदेख्खिने गरी हुन गएका हुन्छन् ।
तर ऐले यौटी महिला पत्रकार जो कञ्चनपुरबाट पत्रकारिता गर्छिन रे तिनले त जानाजान वडा सदस्यसित पङ्गा लडाउन ला को दृष्य, जारी भिडियोमा देखिनुले यौटा पत्रकारले जनप्रतिनिधिमाथि गरेको व्यवहारलाई लिएर उनको चारैतिर विरोध भै रा’छ ।
र, साँच्चिकै उनी पत्रकार हुन् भने उनको संस्था महासंघ र प्रेस काउन्सिलले उनलाई कार्वाही गर्नु पर्दछ भन्ने आवाज सामाजिक सन्जालभरि घन्किरहेको छ ।
त्यसो त कार्यक्रम भैरहेको हलमा गएर उनले बालबालिकाको कार्यक्रमलाई विथोल्दै वडा अध्यक्षमाथि गरेको ब्यवहारले गर्दा उनलाई कार्वाहीका लागि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यदि साँच्चिकै उनी पत्रकार हुन् भने उनले आचारसंहिता विर्सेकि हुन कि सत्ताको आडमा अध्यक्षसित पौँठेजोरी खेल्न गएकि हुन् त्यो त पछि नै था होला । पत्रकारहरुको आफ्नै आचारसंहिता छ ।
यो पेशामा लाग्छु भन्नेहरुले त्यसलाई अनिवार्यरुपमा पालना गर्नुपर्दछ । यो संहिता पालन गर्ने पत्रकारले कैल्यै गलत गर्दैन भन्ने मनसाय यो संहितामा छ ।
डिजिटल प्रविधिको विकाससितै पत्रकारिता पेशामा रहेका व्यक्तिले गर्ने कार्य र मनोरञ्जन वा अरुलाई देखाउनका निम्ति मोवाइलका माध्यमले सामाजिक सन्जालमा पस्किदिने बस्तु एकआपसमा मिल्दा जुल्दा हुने हुँदा कुन पत्रकारिता र जिम्मेवारीपूर्वक गरिएको कार्य हो अनि कुन चाईँ सिर्फ मनोरञ्जन वा बुम र मोवाईलकारिता अनि कुन सत्य हो र कुन सत्यलाई ढाक्न बनाइएको रुबरु समाचार वा लेख वा तस्विर हो छुट्याउन नसक्दा गोलमटोलमा सबैलाई यौटै घानमा हालेर पत्रकारिताको संज्ञा दिएर पत्रकारलाई बदनाम र गालिगलोज गरिन्छ ।
डिजिटल प्रविधिको विकासले पत्रकारितामा निम्तिएको यो विकृति पत्रकारिताका निम्ति चुनौति हो र यो चुनौतिको सामना गर्दै जनतालाई सुसूचित गराउन ऐलेको समयमा निकै कठिनछ ।
ती विकृति विरुद्ध लडन पत्रकार महासंघले पत्रकार आचार संहिता बनाएजस्तै गरि डिजिटल माध्यमबाट सामाजिक सञ्जालमा आउने कपोलकल्पित र भ्रामक समाचारलाई चिर्दै जनतालाई सत्यतथ्य जानकारी गराउनका लागि नीतिगतरुपमै सम्पूर्ण पत्रकारहरुले अंगिकार गर्नेगरी यौटा संहिता आउन जरुरी छ ।
पत्रकार आचार संहिताको ‘आ’सम्म पनि नसुनेका पनि पत्रकार, अनि रातदिन पत्रकार आचारसंहिताको अधिनमा रहेर जनतालाई सत्यतथ्य समाचार र सूचना दिन तल्लिन पनि पत्रकार, यी दुईटैलाई एउटै क्याटागोरीमा राखेर जनताले जहिलेसम्म हेर्न छोडदैनन त्यैलेसम्म अब नेपालको पत्रकारिता सर्वसाधारणबीच विश्वसनीय हुन गाह्रो छ ।
त्यसैले बेलाबेलामा सार्वजनिक हुने यस्तै घटनाका समाचार अनि त्यसका तस्बिरबाट पनि केही सिकेर महासंघले पत्रकारिता पेशाको चुनौतिसित लडन छुट्टै बाटो अवलम्बन गर्न जरुरी छ । हाम्रा पत्रकार नेताहरुमा चेतना भया !




प्रतिक्रिया राख्नुहोस्