जन सरोकार

तेस्रोलिंगी भुजेल हत्या प्रकरण : सामूहिक यौन सम्पर्क, रकम मागेपछि हत्या

अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न पाँचजनालाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, सोही ठाउँका २४ वर्षीय घनटाउके भनिने सुशील थापा रहेका छन् ।

प्रहरीका अनुसार भुजेललाई हेटौँडा–११ स्थित थानाभर्‍याङमा ना६ख नंको ट्रकमा राखी हापु भन्ने सिमोन परियार, सुशील थापा र अन्य दुईजनासमेत मिलेर सामूहिक रुपमा यौन सम्पर्क गरेको र त्यसबापत भुजेलले रु सात हजार मागेपछि विवाद भएको र गाडीमा प्रयोग हुने बिजुलीको तारले घाँटीमा कसेर मारेको त्यसपछि त्यही गाडीमा राखेर छ किलोमिटर पूर्व क्याम्पाडाँडास्थित कान्तिराजपथमा फालेको उनीहरुले बताएका छन् ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो । यही माघ ४ गते हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडामा एउटा शव फेला पर्‍यो । मृतकको शरीरमा नीलडाम देखिन्थ्यो भने घाँटीमा बिजुलीको तार बेरिएको र शरीर पूर्णरुपमा नग्न अवस्थामा रहेको थियो ।

शव भेटिएको केहीबेरमै लैंङ्गिक, अल्प सङ्ख्यकहरुको क्षेत्रमा क्रियाशील अधिकारकर्मी अजिता भुजेल रहेको थाहा भयो । भुजेल मकवानपुरबाट तेस्रोलिङ्गीका रुपमा नागरिकता लिने पहलो व्यक्ति पनि थिइन् ।

घटनापछि प्रहरीले धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो भने केहीलाई निगरानीमा राखेरसमेत अनुसन्धान गरेको थियो । प्रहरीले घटना घटेको दिन तथा त्यसअघिका टेलिफोन विवरण, सिसी टिभीहरुमा रेकर्ड भएका भिडियो क्लिपहरु आदिको अध्ययन गरेर अनुसन्धानलाई सफल बनाउने प्रयास गरेको थियो । (रासस)

सम्बन्धित खबर

Back to top button