एन आर एन न्युज

स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनए अध्यक्ष डा. केसीको पहल

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले स्पेनमा रहेका नेपाली नागरिकहरूको पासपोर्टसम्बन्धी समस्या तत्काल समाधान गर्न राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालको ध्यानाकर्षण गराउनुभएको छ।

स्पेन सरकारले कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने घोषणा गरे पनि नेपाली नागरिकहरूले पासपोर्ट नवीकरण तथा नयाँ पासपोर्ट प्राप्तिमा ढिलाइ र प्राविधिक कठिनाइ भोगिरहेको गुनासो आएपछि अध्यक्ष डा. केसीले यो विषयबारे ध्यानाकर्षण गराउनुभएको हो।

उहाँले स्पेन सरकारले कागजातविहीन आप्रवासी श्रमिकलाई अभिलेखीकरणका लागि दिएको अवसर उपयोग गर्न राहदानी विभागले तत्काल घुम्ती राहदानी शिविर पठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

“अहिले त्यहाँ राहदानी नभएका तथा म्याद सकिएका नेपालीको संख्या ठूलो छ,” उहाँले भन्नुभयो, “स्पेनस्थित नेपाली दूतावासमा उपलब्ध जनशक्तिले मात्र यस समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो आइरहेको छ, त्यसैले काठमाडौंबाट नै विशेष टोली पठाउनुपर्छ।”

स्पेनमा कागजातविहीन नेपालीको यकिन तथ्यांक नभए पनि, यस अवसरमा सहभागी हुन पाए त्यहाँ रहेका अलेखबद्ध नेपाली नागरिकको वैधानिक हैसियत कायम हुन सक्ने अध्यक्ष डा. केसीले उल्लेख गर्नुभयो।

सो अवसरमा महानिर्देशक अर्यालले परराष्ट्र मन्त्रालयले यथाशीघ्र विशेष टोली स्पेन पठाउने निर्णय गरिसकेको र उक्त निर्णय कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी गराउनुभयो।

यस भन्दा अगाडि माननीय परराष्ट्र मन्त्री, परराष्ट्र सचिव तथा युरोप डिभिजन प्रमुखलाई छुट्टा–छुट्टै भेटी स्पेनसम्बन्धी समस्या अवगत गराइनुका साथै पत्राचार पनि गरिएको थियो।

उक्त भेटघाटमा श्रम आप्रवासन तथा नेपाली डायस्पोरा डिभिजनका उपसचिव कृष्णकुमार सुवेदी, संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्रको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.