खेल

तीनै कप्तानको दावी आइसीसी विश्वकप लिग २, सिरिज जित्ने

बुधबारदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आईसीसी विश्वकप क्रिकेट लिग– २ सुरु हुँदैछ । पहिलो खेल आज नेपाल र ओमानबीच हुनेछ र नेपाल विजयी लक्ष्यका साथ घरेलु मैदानमा उत्रने छ ।

आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । मंगलबार साँझ पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी पूरा भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । विभिन्न चुनौतीका बाबजुदसमेत प्रतियोगिता सञ्चालन गर्न गइरहेको उहाँको भनाइ थियो ।

आइसीसीले निलम्बन फुकुवा गरेको छोटो समयमा मेहनतका साथ सिरिज आयोजना गर्न लागेको अध्यक्ष चन्दले बताउनुभयो । मुख्य प्रशिक्षक उमेश पटवालको राजीनामाका कारण नेपालको खेलमा कुनै असर नपर्ने उहाँले उल्लेख गर्नुभयो ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताका लागि सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले प्रतियोगिता व्यवस्थित तरिकाले सञ्चालन गर्न कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गर्ने प्याकुरेलले उल्लेख गर्नुभयो ।

मुख्य प्रशिक्षक पटवालको राजीनामाबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र राष्ट्रिय खेलकूद परिषद् बोल्नुपर्ने उहाँको भनाइ थियो । क्यान निलम्बनमा रहेको बेला राखेपले पटवाललाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । नेपालले एक दिवसीय मान्यता पाएको दुई वर्षपछि घरेलु मैदानमा पहिलो सिरिज खेल्न लागेको हो । नेपालले बुधबार उद्घाटन खेल ओमानसित खेल्दैछ ।

सिरिज जित्ने तीनै कप्तानको लक्ष्य

पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाका कप्तानले विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज जित्ने लक्ष्य रहेको बताउनुभयो । उहाँहरुले आफ्नो टोली बलियो रहेको दाबी गर्नुभयो । कीर्तिपुरस्थित मैदानमा हुने उक्त सिरिजमा शत प्रतिशत नतिजा निकाल्ने आफ्नो टोलीको लक्ष्य हुने नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउनुहुन्छ । घरेलु मैदान र दर्शकको फाइदा नेपालले लिने उहाँको भनाइ थियो । पोखरामा सञ्चालन गरिएको बन्द प्रशिक्षणबाट बढी ऊर्जा मिलेको उहाँ बताउनुहुन्छ । कप्तान मल्लले मुख्य प्रशिक्षक पटवालको राजीनामालाई बिर्सेर नेपाली टोली मैदानमा उत्रिने बताउनुभयो । यसैगरी ओमान र अमेरिकाका कप्तानले समेत उक्त सिरिज आफूले जित्ने दाबी गर्नुभयो ।

अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ विजयी

यसअघि अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ विजयी भएको छ । नेपालले उक्त खेल ३७ रनले जितेको हो । मूलपानीस्थित क्रिकेट मैदानमा मंगलबार भएको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट–११ ले ब्याटिङ गर्दै १११ रन बनायो । ११२ रनको विजयी लक्ष्य पछ््याएको अमेरिका ३३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो ।

नेपालले पहिला ब्याटिङ गर्दै ३३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालका लागि सुवास खकुरेलले अविजित ५२ रन बनाउनुभयो । यस क्रममा उहाँले पाँच चौका हान्नुभयो । पवन सर्राफले १९ रन बनाउनुभयो । बलिङतर्फ अमेरिकाका रुस्ती थोरण र सौरभ नेटरभालकरले दुई दुई विकेट लिनुभयो ।

यस्तै अमेरिकाका लागि स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन बनाउनुभयो । बलिङतर्फ नेपालका शेर मल्लले चार, सागर ढकालले तीन तथा पवन शर्राफले दुई विकेट लिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.