विश्व समाचार

कोरोनाबाट छ सय ३० जनाको मृत्यु- भाइरस नियन्त्रणमा चीन सफल हुने ट्रम्पको विश्वास

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखापरेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६ सय ३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भए पनि यसले चीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीव २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा बढी क्रुज जहाज, डाइमण्ड प्रिन्सेसमा ६१ जना रहेका छन् भने सिंगापुरमा ३०, जापानमा २५, थाइल्याण्डमा २५, हङकङमा (मृत्यु भएका एक व्यक्तिसहित) २४, दक्षिण कोरियामा २३, ताइवानमा १६ अष्ट्रेलियामा १५ र मलेसियामा १४ व्यक्तिमा भएको छ ।

त्यसैगरी जर्मनीमा १३, संयुक्त राज्य अमेरिकामा १२, भियतनाममा १०, मकाउमा १०, फ्रान्समा छ, क्यानडामा पाँच, संयुक्त अरब इमिरेट्समा पाँच, बेलायतमा तीन, भारतमा तीन, फिलिपिन्समा ९मृत्यु भएका एक व्यक्तिसहित० तीन व्यक्तिमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

रूस र इटाली मा दुई दुई व्यक्तिमा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । नेपाल, श्रीलङ्का, कम्बोडिया, फिनल्याण्ड, स्पेन, स्वीडेन, बेल्जियममा एक एक जनामा नयाँ कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ ।

भाइरस नियन्त्रणमा छिट्टै सफलता पाउनेमा ट्रम्प विश्वस्त

चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका उपायबाट छिट्टै भाइरस सङ्क्रमण नियन्त्रणमा सफलता मिल्ने बताउनुभएको हो ।

चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई चिन्तित तुल्याएको भन्दै यसको सामना गर्ने चीनको क्षमताप्रति अमेरिकी राष्ट्रपति ट्रम्प ‘विश्वास’ व्यक्त गर्नुभएको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

“फोनवार्तामा दुई नेताबीच आपसीरूपमा सूचनाको बढीभन्दा बढी आदानप्रदान र आवश्यकता अनुसार अन्य बिषयमा पनि समन्वय जारी राख्न सहमत हुनुभएको थियो,” विज्ञप्तिमा भनिएको छ । चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमहरूमा दुई नेताबीच टेलिफोन वार्ता भएको सार्वजनिक भएपछि ह्वाइट हाउसले पनि यसबारे जानकारी गराएको हो ।

उक्त अवसरमा उहाँहरूले संयुक्त राज्य अमेरिका र चीनबीच हालै सम्पन्न पहिलो चरणको व्यापार सम्झौताबारे पनि छलफल भएको थियो । उहाँहरूले व्यापार सम्झौता चीन र अमेरिकाबीचको उल्लेख्य उपलब्धिहरू भएको भन्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.