जनयुद्ध दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएकाले यो दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउनन आव्हान गर्नुभएको छ ।
आज फागुन १ गते २८ औँ जनयुद्ध दिवसको अवसरमा दिनु भएको शुभकामना सन्देशमा उहाँले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले २०५२ फागुन १ गतेबाट सुरू गरिएको महान् जनयुद्धको २८ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्द सो आव्हान गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नु भएको छ, ‘‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु।’’
शुभकामना सन्देशमा भनिएको छ, ‘‘वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ।’’
मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको कुरा पनि प्रधानमन्त्रीको सन्देशमा समावेश छ ।
प्रधानमन्त्रीको सन्देशमा जनयुद्ध नेकपा (माओवादी)ले नेतृत्व गरेको भए तापनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस भएको पनि उल्लेख गरिएको छ ।
देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको भनाइ प्रधानमन्त्रीको छ ।





प्रतिक्रिया राख्नुहोस्