डा. भण्डारीको उपचारका लागि विदेश लैजान सिफारिश
बुधबार राति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता तथा सांसद डा. चन्द्र भण्डारीको उपचार नेपालमा भएको स्रोत साधनले सम्भव नहुने भन्दै कीर्तिपुर अस्पताले विदेश लैजान सिफारिश गरेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार शरीरको २५ प्रतिशत भाग जले पनि सांसद डा. भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि स्वदेश बाहिर लैजान चिकित्सकले सिफारिस गरेका हुन् ।
अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।
डा. ताम्राकारले आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले अवस्था पनि गम्भीर रहेको बताउनुभयोे ।
आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उहाँले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिइएको छ ।





प्रतिक्रिया राख्नुहोस्