महरालाई अदालतले दियो बलात्कार उद्योगको मुद्दामा सफाई
बलात्कारको आरोपमा थुनामा रहनुभएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । संसद सचिवालयको स्वास्थ्य इकाईमा कार्यरत महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको मुद्दामा अदालतले सफाइ दिएको हो ।
बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेका महरालाई यसअघि काठमाडौं जिल्ला अदालतले कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
महराले बलात्कार प्रयास गरेको उजुरी दिने महिला कर्मचारी रोशनी शाहीले सोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको प्रहरीलाई बताएकी थिइन् ।
महराले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आउनुभएको थियो । सोही मुद्दामा जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उहाँलाई सफाइ दिएको हो ।
फैसलापछि महरा काठमाडौं जिल्ला अदालतबाट बाहिरिनुभए पनि सञ्चारकर्मीहरूलाई कुनै प्रतिक्रिया दिनुभएन । महरालाई प्रहरीले डिल्लीबजारस्थित कारागार लगेको छ । त्यहाँबाट प्रक्रिया पूरा गरेर उहाँलाई रिहा गरिनेछ ।
यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिए पनि उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो । उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो ।
प्रतिक्रिया राख्नुहोस्