राजनीति

पूर्व सभामुख महरा डिल्लीबजार कारागारबाट रिहा, थुनामा रहेका भिआईपीद्वारा माला लगाएर विदा

बलात्कार उद्योगको मुद्दाबाट सफाई पाउनुभएका पूर्व सभामुख कृष्णबहादुर महरा थुनामुक्त हुनुभएको छ । सोमबार जिल्ला अदालत काठमाडौंले सफाई दिएपछि उहाँलाई प्रहरीले डिल्लीबजार कारागार लगी प्रक्रिया पूरा गरेर रिहा गरेको हो ।

महरालाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका महरालाई सोमबार नै अदालतले सफाइ दिएको थियो ।

महरालाई सुरुमा बलात्कारको आरोप लगाउने शाहीले पछि बयान फेर्दै महरालाई बचाउने बयान दिएकी थिइन् । शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो । महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिनुभएको थियो ।

गत असोज १२ गते राति महरा रक्सी सेवन गरी कोठामा आएको र बलात्कार प्रयास गरेको रोशनीले त्यसबेला भिडियोमा भनेकी थिइन् । उक्त भिडिओमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले भनेकी थिइन् ।

सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडिओ रेकर्डलाई देखिन्थ्यो ।

‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट (गत असोज १३ गते) पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताएकी थिइन् ।

त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र चस्माको भाँचिएको खुट्टा प्रहरीले बरामद गरेको थियो। उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो। यो महरा विरूद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.