राष्ट्रपति निर्वाचनमा के गर्ला राप्रपाले
राष्ट्रप्रमुखका रुपमा संवैधानिक राजा चहिने भन्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने निर्णय गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
शुक्रबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले माग गरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ । बैठक दिउँसो १ बजे बोलाइएको उहाँले बताउनुभयो ।
निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा देशभर पार्टीको अवस्था, सङ्गठन सुदृढीकरणका योजना, विभिन्न प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइने छ । निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर्न समय तय गरेको छ ।




प्रतिक्रिया राख्नुहोस्