राजनीति

लोकतान्त्रिक गणतन्त्रमा प्रजातन्त्रका लागि संघर्ष गर्नुपर्ने कुरा

शेरबहादुर देउवा

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुनः प्रजातन्त्रका लागि संघर्ष गर्नुपर्ने बेला आएको बताउन थालिएको छ । झण्डै दुई तिहाई निकटको वामपन्थी सरकारले प्रजातान्त्रिक अधिकार हनन् गर्न लागेको आरोप पनि लगाउँदै आएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभएको हो ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उहाँले सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

हिंसामुक्त समाज निर्माण र प्रजातन्त्रको रक्षाका लागि कुनै पनि सम्झौता नगरिने उल्लेख गर्दै सभापति देउवाले काँग्रेसको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताउनुभयो । उहाँले पार्टीमा रहेका केही समस्याको समाधान पार्टी भित्रैबाट खोजिने बताउनुभयो । काँग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्षबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चुनौती उत्पन्न भइरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा काँग्रेस नेता प्रकाशमान सिंहले सरकारका क्रियाकलापबाट जनता आजित भएको टिप्पणी गर्दै यस्तो परिस्थितिमा काँग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्यो कि सकेन भनेर पनि स्वमूल्याङ्कन गर्नुपर्ने बेला आएको बताउनुभयो । अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले संविधानलाई मुलुक समृद्ध बनाउनभन्दा आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको आरोप लगाउँनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.