राजनीति

रवीन्द्र अधिकारी-समयले जन्माएको एउटा पात्र

यादब देवकोटा

आज फागुन १५ गते नेपाली राजनीतिक इतिहासको एउटा कालो दिन । देशले आश गरेका, देशको समृद्धिका लागि मरिमेटेर लागिपरेका एक संघर्षशील राजनेता तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको दिन ।

नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल अधिकारी विसं २०६४ र २०७० को संविधानसभा सदस्यमा कास्की क्षेत्र नं ३ र २०७४ सालको प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट अधिकारी निर्वाचित हुनुभएको थियो । उहाँले २०७४ चैत २ गते नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

आज रवीन्द्र अधिकारीको स्मृतित दिवसमा केही समय अघि उहाँका बारेमा नेपालजापान डटकममा लेखिएको स्मरण यहाँः पुनः प्रकाशन गर्नु सान्दर्भिक छ-

स्व. रवीन्द्र अधिकारी एउटा हँसिलो विद्रोही, शान्त क्रान्तिकारी अनि जनप्रिय नेता । सबै दलका कार्यकर्ताका लागि उहाँ प्रिय नेता हुनुन्थ्यो । यसो भन्नुको कारण अनेक छन् । विद्रोहको अर्थ हतियार उठाउनु मात्र हैन । अनि क्रान्ति भनेको रक्तवहाव मात्र पनि हैन । जनताको मानसिकता परिवर्तन, देशको स्थितिमा सुधार र जनतालाई समृद्धिको मार्गमा डोर्याउनु नै क्रान्ति हो । त्यो क्रान्तिको मार्गमा दत्तचित्त भएर लागिपर्ने अभियन्ता ‘विद्रोही’ हो– जो राज्यमा कायम रहेका विकृति, विसंगति र कुप्रथाकाबिरुद्ध एक्लै भए पनि लडिरहन्छ, आफ्ना भनाइहरु, आफ्ना सोच र योजना जनतामा निरन्तर प्रवाह गरिरहन्छ शान्तिपूर्ण रुपमा ।

स्व. अधिकारी यस्तै स्वाभावका हुनुहुन्थ्यो । अन्याय बिरुद्ध उहाँ जस्तोसुकै कदम चाल्न तयार हुनुहुन्थ्यो । यसको एक होइन अनेक उदाहरण छन् । दरबारबिरुद्ध खुला रुपमा धावा बोल्ने खुला राजनीतिका पहिलो नेता अधिकारी हुनुहुन्थ्यो । उहाँले कहिल्यै त्यसको ब्याज खोज्नुभएन । आन्दोलनका बेला टाउका फुटेका फोटा देखाएर लाभ लिनेहरुको भीडमा दरबारबिरुद्ध ५ लाखको हस्ताक्षर संकलन गरेर बुझाउने अधिकारीले त्यसलाई मात्र आफ्नो कर्तव्य सम्झनुभयो । मेरो बुझाइमा एउटा नेतामा हुनुपर्ने गुण यही हो ।

हँसिलो अनुहार, फुर्तिलो शरीर, बेलाबेलामा हाँसो–मजाक गर्ने बानी, खुला हृदयले आफ्ना कुरा भन्ने र अरुको कुरा सुन्ने बानी, आफ्नो अभियान र कर्ममा जतिसुकै अबरोध सिर्जना गर्न खोजिए पनि रत्तिभर विचलीत नहुने र भित्रभित्रै आफ्नै किसिमले पार्टी, समाज अनि विकृतिका बिरुद्ध त्यहीभित्र बसेर शान्त र शालिनतापूर्वक विद्रोहको भाषा बोल्ने अधिकारीसंगको एकदशकको संगतले उहाँलाई राम्रोसंग चिन्ने मौका पाएँ । उहाँमा देशमा केही गर्नुपर्छ भन्ने भोक थियो, काम गर्ने जाँगर थियो, दूरदर्शी सोच थियो ।

मुलुक ऐतिहासिक मोडमा थियो, पहिलोपटक संविधानसभाबाट जनताले आफ्नो संविधान आफैं बनाउने मौका पाएका थिए । तर राजनीतिक दलका नेताहरुबीच विवादका चाङ थिए । संविधान बनाउने संविधानसभा भत्ता पचाउनेहरुको भीड सावित बनेको थियो । तीन दलका शीर्ष नेताहरुबीच सहमति गरेर संविधान बनाउने प्रयास चलिरहेको थियो । तैपनि सहमति हुन सकेको थिएन । २ वर्षका लागि निर्वाचित भएको संविधानसभा पटकपटक गरी थप दुई वर्ष थपियो । तर थपिएको दुई वर्षमा पनि संविधान बन्ने छाँटकाट थिएन ।

एकदिन अधिकारीसंग भेट भयो– भेटको सुरुमै “दाइ संविधान त नबन्ने भयो नि ! के गरेका होलान ?” २०६८ सालको कुरा हो यो ? मेरो जिज्ञासामा उहाँको उत्तर थियो– “संविधान नबनाएर सुख पाइन्छ ? हामी कुनै हालतमा त्यसो हुन दिन्नौं ! यसका लागि हामी लागिरहेका छौं । तपाई निराश नबन्नुस् !”

हुन पनि उहाँ राजनीति मात्र मुलुकको स्थिरता र विकासका लागि हुनुपर्छ भन्ने मान्यतामा दृढ हुनुहुन्थ्यो । पार्टीका शीर्ष नेताहरु संविधानका विषयवस्तुमा विवाद झिकेर बसिरहेका बेला मुख्य पार्टीका युवा सांसदहरु समूहगत रुपमै दवाव सिर्जना गर्न सक्रिय हुनुहुन्थ्यो । तर, उहाँहरुको अभियान असफल भयो २०६९ सालमा ऐतिहासिक संविधानसभा विघटन भयो र तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम सरकार बन्यो दोस्रो संविधानसभाको चुनाव गराउने गरी ।

स्व. अधिकारी विकासप्रेमीका रुपमा परिचित र देशले आश गरेका नेता हुनुहुन्थ्यो त्यसैले त उहाँ कास्कीबाट तीनपटक लगातार निर्वाचित हुनुभयो । उहाँले निर्वाचन क्षेत्रसंगै सिंगो देशको विकास र समृद्धिको नेतृत्व गर्नुभयो । राजनीतिलाई विकासको बहसमा उतार्नुभयो । समृद्धि कसरी हाँसिल गर्ने भन्नेमा गहन अध्ययन गर्नुभयो । सयौं लेख प्रकाशित गर्नुभयो र ‘समृद्ध नेपाल’ पुस्तक सार्वजनिक गर्नुभयो ।

अधिकारीको त्यो पुस्तक मुलुकको विकास कसरी गर्ने भन्ने स्पष्ट मार्गचित्र हो । एक किसिमले भन्ने हो भने राष्ट्रिय योजनाको खाका नै भन्दा फरक नपर्ला । तर अधिकारीले आफ्नो सपना पूरा गर्न पाउनुभएन । नियतिको कठोर खेलले हामीबाट उहाँलाई चुँडेर लग्यो । आज सम्झदा मन भक्कानिएर आउँछ ।

उहाँसंगको स्मरणहरु अनगिन्ती छन् । विशेषतः हामीबीच कुनै राजनीतिक दलका बारेमा कहिल्यै कुरा भएन । मात्र मुलुकको समृद्धिमा कुरा हुन्थ्यो । काम गर्ने चाहनामा आउने अबरोधहरु कसरी चिर्ने भन्ने बहस हुन्थ्यो । कास्की क्षेत्र नं. २ बाट पछिल्लोपटक निर्वाचित भएपछि उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो । छोटो कार्यकालमा उहाँले पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा कीर्तिमानी काम गर्नुभयो । यति भन्न मलाई कुनै गाह्रो पर्दैन । सरकारका कामका बारेमा विपक्षी दलले चर्को आलोचना गरिरहेका बेला विपक्षी दलकै नेताले सार्वजनिक संचार माध्यमबाटै अधिकारीको कामको प्रशंसा गरेका थिए । यही गुण थियो स्व. अधिकारीमा ।

आलोचन भगवानको पनि हुन्छ ! अधिकारी आलोचनाबाट मुक्त हुनुभएन । विशेष गरी वाइडबडी काण्डमा उहाँलाई नियोजित रुपमा मुछियो– यो मेरो ठम्याई मात्र हैन प्रमाणहरुले पनि बताइसके । उहाँले यस विषयमा संसददेखि संचार माध्यमसम्म प्रष्टिकरण दिनुभयो । तर निरन्तर प्रहार भैरह्यो । अन्ततः यसको गहिराइमा पुगेर विवरणहरु सार्वजनिक हुन थालेपछि यो मुद्दा नै सेलायो ! तर अधिकारी “न बिराउनु नडराउनु’को शैलीमा जीवनको अन्तिम क्षणसम्म लागिपर्नुभयो । उहाँको यही लगनशीलताले सबैलाई कायल बनाउँछ ।

अधिकारीमा राजनीतिक प्रतिस्पर्धा र प्रतिशोधको भावना नै थिएन । तत्कालीन एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच संविधानका अन्तरवस्तुमा विवाद भएर चर्को बहसको विषय बनिरहेका बेला संविधान बनाउन दवाव दिन उहाँले कांग्रेस नेता गगन थापासंग सामूहिक लेख लेख्नुभयो । यो असल राजनीतिक चरित्र थियो । अनि विद्यार्थी नेता हुँदा अखिलबाट स्ववियू सभापति निर्वाचित अधिकारीले नेविसंघमा आबद्ध विद्यार्थीहरुलाई समेत भर्ना हुन सघाएर एउटा नेताको परिचय दिनुभएको उहाँका समकालीन नेविसंघका नेताहरु नै बताउँछन् ।

शिक्षाविद् जोर्जजोनको अधिकारीप्रतिको दृष्टिकोणबाटै थाहा हुन्छ उहाँ कस्तो स्वाभाविको हुनुहुन्थ्यो भनेर । उहाँ भन्नुहहुन्छ- “म काजबाट २०४९ सालमा पृथ्वीनारायण क्याम्पस फर्कंदा रवीन्द्र अधिकारी स्ववियु सभापति हुनुहुन्थ्यो । निकै जाँगरिलो, कमाण्डिङ गर्न सक्ने टाठो युवा लाग्थ्यो । उहाँकै पहलमा पिएन गेटदेखि कार्यालयसम्मका बाटोलाई कङ्क्रिट बाटो बन्यो । बाटो निर्माण चन्दा उठाउन उहाँ निकै खटिनुभएको थियो । रवीन्द्रले विद्यार्थीकालदेखि नै विकासको एजेण्डालाई प्राथमिकता दिएको मैले पाएँ । कसैलाई नराम्रो नगर्ने, सम्मान गर्न जान्ने उहाँको विशेषता थियो । पोखरा विश्वविद्यालयको स्वरुप सम्बन्धीको एउटा कमिटीमा रवीन्द्र र म सँगै थियौँ । उहाँले धेरै सुझाव दिनुभएको थियो ।”

सम्बन्धित खबर

Back to top button