बालिका बलात्कार गर्नेलाई बचाउन मिलापत्र गर्न खोज्ने दुईजना पक्राउ
देशमा बलात्कारपछि सो घटनालाई पद, पैसा र शक्तिको बलमा स्थानीय रुपमै मिलाउने घटनाहरु बारम्बार सार्वजनिक भैरहेका बेला मोरङमा यस्तै घटनामा संलग्न दुईजनालाई पक्राउ गरिएको छ ।
समाचार अनुसार जिल्लाको जहदा गाउँपालिकाका दुई जनालाई बलात्कार प्रयासको घटना गाउँमै मिलाउन खोजेको आरोपमा पक्राउ गरिएको हो । घटना मिलाउन दबाब दिनेमध्येका पर्शुराम सरवरिया र सानदेव सरवरिया पक्राउ परेका हुन् ।
इलाका प्रहरी रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले पीडित ११ वर्षीया बालिकाका परिवारले घटनाको सातौं दिन बिहीबार जाहेरी दिएका थिए । स्थानीय ४५ वर्षीय राजेन्द्र सरवरियाले फागुन ६ गते दिउँसो ४ बजेतिर बालिकालाई घरबाट मावली घर जाने क्रममा फकाइफुल्याइ मकै बारीमा लगेर बलात्कार प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताउनुभयाृ ।
उहाँले घटनाको जानकारी दिंदै भन्नुभयो, ‘पहिलो दिन सरवरियाले लुगा खोल्न लागेपछि बालिका भाग्न सफल भएकी थिइन्,’ उनले भने, ‘त्यसको दुई दिनपछि दोस्रोपटक पुनः बलात्कार प्रयास गरेपछि मात्रै बालिकाले घटनाबारे परिवारजनलाई जानकारी गराएको पाइयो ।’
सानैमा आमाको मृत्यु र बुबा बेपत्ता भएदेखि मावली हजुरआमाले पालनपोषण गर्दै आएकी बालिकालाई बलात्कार प्रयास गरेपछि गाउँमै छलफल गरेर घटना सामसुम पार्न पैसा लिएर मिल्नुपर्छ भन्ने प्रस्ताव राखेर पीडित पक्षलाई घटना मिलाउन दबाब दिएको खुलेको हो ।
घटना घटेको हप्ता दिनपछि मात्रै जाहेरी आउँदा आरोपित सरवरिया फरार भएकाले खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्