भोटेकोशी बाढीले क्षतिग्रस्त सडक–पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनाएको सडक तथा पुलको यातायात सम्पर्क दसैँअघि नै पुनःस्थापित गर्ने गरी सरकारले काम तीव्र बनाएको छ।
बाढीले सडक, मोटरेबल पुल, झोलुंगे पुललगायत यातायात पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन गरी अस्थायी तथा वैकल्पिक मार्ग निर्माणको काम भइरहेको छ।
सरकारको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकनअनुसार बाढीले प्रभावित क्षेत्रमा ६९ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ। त्यस्तै ३३ वटा मोटरेबल पुल पूर्णरूपमा बगेका छन् भने चारवटा पुलमा आंशिक क्षति पुगेको छ।
प्रभावित क्षेत्रका ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ। सडक तथा यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ।
दसैँका समयमा नागरिकको आवतजावत सहज बनाउनुका साथै उत्तरी नाका रसुवागढीसँगको व्यापारिक सम्पर्क पुनःस्थापित गर्ने उद्देश्यले सरकारले मुख्य सडकमा अस्थायी ट्र्याक खोल्ने, बगेका सडकखण्डमा वैकल्पिक मार्ग निर्माण गर्ने र आवश्यक स्थानमा बेलिब्रिज जडान गर्ने कामलाई प्राथमिकता दिएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दसैँअघि नै अस्थायी रूपमै भए पनि यातायात सञ्चालन गर्ने गरी काम तीव्र पारिएको र आवश्यक बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाइसक्नुभएको छ। बाढीका कारण ठूलो जनधनको क्षति र विस्थापन भएको अवस्थामा चाडपर्वको समयमा यातायात पूर्णरूपमा ठप्प हुन नदिन सम्बन्धित निकायलाई परिचालन गरिएको उहाँले बताउनुभएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले बाढीबाट अवरुद्ध भएका सडकहरू दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अधिकांश स्थानमा सडक खुलिसकेको भए पनि केही महत्वपूर्ण खण्डमा अझै ठूलो चुनौती रहेको छ।
“बाढी प्रभावित क्षेत्रमा दसैँअघि नै यातायात सञ्चालन गर्ने हाम्रो लक्ष्य नै छ। बाढीले अवरुद्ध अधिकांश बाटो खुलिसकेका छन्। अब खोल्न बाँकी मुख्य खण्ड स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको हो,” उहाँले भन्नुभयो, “यो खण्डको सडक खुलाउन एक्साभेटर, डोजर, लोडरलगायत हेभी इक्विपमेन्ट पठाइसकिएको छ। वेत्रावतीमा पनि बाँकी सडक खोल्ने तथा बेलिब्रिज राख्ने काम अघि बढिरहेको छ।”
बाढीले बेत्रावतीदेखि रसुवागढीसम्मको सडकका विभिन्न भागमा ठूलो क्षति पुर्याएको थियो। प्रारम्भिक विवरणअनुसार बेत्रावती, ढुङ्गे, सातबिसे, उत्तरगया, स्याफ्रुबेँसी, चिलिमे तथा रसुवागढीतर्फका सडकखण्डमा सडक बगाउने, कटान गर्ने तथा पुलहरू भत्काउने काम भएको छ। बेत्रावती–रसुवागढी सडकको ठूलो हिस्सा बाढीले बगाएपछि नुवाकोट र रसुवाबीचको नियमित सडक सम्पर्कसमेत अवरुद्ध भएको थियो।
बेत्रावतीदेखि रसुवागढीसम्म तीन चरणमा काम
सडक विभागले बेत्रावतीबाट माथिल्लो क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापित गर्न विभिन्न चरणमा काम अघि बढाएको छ। बेत्रावती क्षेत्रमा सडक खोल्ने, फलाखु खोलामा बेलिब्रिज राख्ने तथा स्याफ्रुबेँसी र त्यसपछि रसुवागढीतर्फ आवश्यक स्थानमा थप बेलिब्रिज निर्माण गर्ने योजना छ।
प्रवक्ता न्यौपानेका अनुसार बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम भइरहेको छ। फलाखु खोलामा करिब ७०–७५ मिटरको बेलिब्रिज राख्ने तयारी गरिएको छ। त्यसपछि स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी तथा चिलिमे खोलामाथि आवश्यक पुल राखेर माथिल्लो क्षेत्रमा सडक सञ्चालन गर्ने योजना छ।
उहाँका अनुसार स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म करिब १५–१६ किलोमिटर सडकखण्डमा बाढीले ठूलो क्षति पुर्याएको छ। यो खण्डमा सडकको अस्थायी ट्र्याक खोल्दै आवश्यक स्थानमा बेलिब्रिज जडान गरिनेछ। त्यसपछि तिमुरे हुँदै रसुवागढी नाकासम्म यातायात पुर्याउने लक्ष्य राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा सडक सम्पर्क पुनःस्थापित गर्न चीन र भारतबाट प्राप्त बेलिब्रिज तथा नेपाली सेना र सडक विभागसँग उपलब्ध पुलसमेत प्रयोग गर्ने तयारी गरिएको छ। चीनले उपलब्ध गराएका दुई तथा भारतले उपलब्ध गराएको एक बेलिब्रिजसहित आवश्यक उपकरण परिचालन गर्ने योजना बनाइएको छ।
ढुङ्गे–बेत्रावती र सातबिसेमा सडक खोलिँदै
गल्छी–त्रिशूली–रसुवागढी सडकखण्डअन्तर्गत गल्छीदेखि भैँसेसम्मको सडक सञ्चालनमा आइसकेको छ। भैँसे–बेत्रावती क्षेत्रमा भने केही स्थानमा सडक पूर्णरूपमा बगेका कारण नयाँ ट्र्याक निर्माण गर्नुपर्ने अवस्था छ।
सडक विभागका अनुसार ढुङ्गे–बेत्रावती खण्डमा डोजर तथा एक्साभेटर प्रयोग गरी सडक खुलाउने काम भइरहेको छ। सातबिसे क्षेत्रमा करिब डेढ किलोमिटर सडक बगेको छ भने उत्तरगया माविदेखि बेत्रावतीबीच करिब पाँच सय मिटर सडकसमेत बाढीले बगाएको छ।
नुवाकोटको गेर्खुटारसम्म सडक खुलिसकेको छ। फलाखु खोलामा बेलिब्रिज निर्माण भएपछि बेत्रावतीतर्फको सडक सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ।
बाढीले देविघाटलगायतका स्थानमा पुलसमेत क्षतिग्रस्त बनाएपछि वैकल्पिक पुल निर्माणको काम अघि बढाइएको छ। देविघाटमा अस्थायी एक्रो पुल जडान गरी सञ्चालनमा ल्याइसकिएको सरकारी विवरणमा उल्लेख छ।
४१ मोटरेबल पुलमा क्षति
भोटेकोशी बाढीको प्रभाव सडकमा मात्र सीमित रहेन। नदीको बहावसँगै विभिन्न जिल्लामा मोटरेबल तथा झोलुंगे पुलसमेत ठूलो संख्यामा क्षतिग्रस्त भएका छन्।
सरकारको प्रारम्भिक मूल्यांकनमा ३३ वटा मोटरेबल पुल पूर्णरूपमा बगेका र चारवटामा आंशिक क्षति पुगेको उल्लेख छ। पछिल्लो विस्तृत विवरणमा प्रभावित नदी प्रणालीमा ३७ वटा मोटरेबल पुल क्षतिग्रस्त भएको र तीमध्ये ३३ वटा पूर्णरूपमा बगेको उल्लेख गरिएको छ। साथै ६४ वटा झोलुंगे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ।
पुलहरू बग्दा नदीपारिका बस्तीको आवतजावत, राहत सामग्री ढुवानी तथा स्थानीय उत्पादन बजारसम्म पुर्याउने कामसमेत प्रभावित भएको छ। कतिपय दुर्गम बस्तीमा सडक तथा पुलको अभावका कारण पैदल मार्ग, अस्थायी क्रसिङ र हेलिकोप्टरमार्फत राहत पुर्याउनुपर्ने अवस्था देखिएको छ।
आठ विषयगत कार्यदल परिचालन
बाढी प्रभावित क्षेत्रमा सडक तथा पुल निर्माणलाई गति दिन आठ वटा विषयगत कार्यदल गठन गरी काम भइरहेको पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार ढुङ्गे–बेत्रावती, सातबिसे तथा उत्तरगया मावि–बेत्रावतीबीच बगेका सडकखण्डमा दर्जनौँ डोजर तथा एक्साभेटर परिचालन गरिएको छ। नयाँ अस्थायी ट्र्याक खोल्ने क्रममा दलदले माटो पन्छाउने, पहिरो हटाउने तथा कडा चट्टानी भागमा आवश्यकताअनुसार ब्लास्टिङ गर्ने काम भइरहेको छ।
सडक विभागले बाढीबाट बगेको पुरानो सडकको विकल्पमा कतिपय स्थानमा नदी किनार तथा वैकल्पिक भूभाग हुँदै अस्थायी ट्र्याक खोलिरहेको छ। यसका लागि सडकको भौगोलिक अवस्था, नदीको बहाव तथा चट्टानी भूभागलाई ध्यानमा राखेर हेभी उपकरण परिचालन गरिएको छ।
पुनर्निर्माणमा अर्बौँको आवश्यकता
बाढीबाट सडक र पुलमा पुगेको क्षति तत्काल यातायात सञ्चालनमा ल्याउने काममा मात्र सीमित छैन। स्थायी पुनर्निर्माणका लागि ठूलो रकम र दीर्घकालीन योजना आवश्यक देखिएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा गरिएको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकनअनुसार यातायात पूर्वाधार पुनरुत्थानका लागि मात्रै ७३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ। सडक र पुलको स्थायी पुनर्निर्माण तथा पुनःस्थापनामा ठूलो हिस्सा खर्च हुने देखिएको छ।
भोटेकोशी बाढीले सडक र पुलको संरचनागत कमजोरी मात्र उजागर गरेको छैन, नदी किनारमा निर्माण भएका पूर्वाधारलाई भविष्यका बाढी तथा जलवायुजन्य विपत्बाट सुरक्षित बनाउने चुनौतीसमेत थपेको छ। त्यसैले तत्कालका लागि अस्थायी ट्र्याक र बेलिब्रिजमार्फत यातायात सञ्चालन गर्ने तथा दीर्घकालीन रूपमा भने जोखिमको वैज्ञानिक मूल्यांकनसहित सडक र पुलको पुनर्निर्माण गर्ने आवश्यकता देखिएको छ।
सरकारले तत्कालीन प्राथमिकता दसैँअघि सडक सम्पर्क पुनःस्थापित गर्ने राखेको छ। तर अस्थायी रूपमा यातायात सञ्चालन भएपछि पनि बाढीले बगाएका सडक र पुलको स्थायी पुनर्निर्माण भने आगामी दिनको ठूलो पूर्वाधार चुनौतीका रूपमा रहनेछ।




प्रतिक्रिया राख्नुहोस्