जब बालिकाले ७ महिनाकी गर्भवती छु भन्दै सहयोग मागिन…
नेपालको तराई तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा निकै ठूलो सामाजिक समस्याका रुपमा रहेको बालविवाहबाट उत्पन्न अनेक समस्याहरु बेलाबेलामा संचारमाध्यममा आउने गरेका छन् ।
चेतनाको अभाव तथा पारिवारिक बेमेलका कारण कलिलै उमेरमा विवाह गरी आमा बन्ने बालिकाहरुको स्वास्थ्यसंगै भविष्य समेत जोखिममा पर्ने गरेको छ ।
यसै क्रममा जुम्लाकी एक १६ वर्षीया गर्भवती बालिकाले आफूलाई बचाउन भन्दै फेसबुकमा भिडियो पोष्ट गरेपछि यो विषयले धेरैको ध्यान तानेको छ ।
जुम्लामै विवाह गरेकी कनकासुन्दरीकी १६ वर्षीया बालिकाले आफ्नो पेटमा ७ महिनाको बच्चा भएको र स्वास्थ्य चेकजाँच, खानपिन तथा लत्ताकपडा नभएको भन्दै फेसबुकबाट भिडियो सन्देश सार्वजनिक गरेपछि उनको सहयोगका लागि स्थानीयहरू लागिपरेका छन् ।
आफू सात महिनाको गर्भवती रहेको र स्वास्थ्य अवस्था कमजोर भएको र आफन्त कोही नभएको भन्दै जीवन रक्षाको माग गरेकी छिन ।
सामाजिक सञ्जालमा त्यो भिडियो बाहिरिएपछि नेपाल पत्रकार महासङ्घ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले सम्पर्क गरेर उनलाई भेटेर आधारभूत सहयोगको पहल गर्नुभएको छ । ती बालिकालाई उपाध्यक्ष शाहीले आफू बस्ने घरमा ल्याएर आफ्नो कोठामा आश्रय दिनुभएको छ ।
महासङ्घका उपाध्यक्ष शाहीले ती बालिकाको बारेमा स्थानीय प्रशासन र सरोकारवाला निकायमा जानकारी गरेको बताउनुभयो । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सात महिनाको गर्भ पहिलोपटक चेकजाँच भएको छ । डाक्टरले आमा र बच्चाको स्वास्थ्य जोखिमपूर्ण रहेको बताएका छन् ।
उनी जुम्ला सदरमुकामको बसपार्कमा कोठा भाडामा बस्ने गरेकी बताएकी छिन् । एक वर्ष अगाडि सुर्खेत कुर्मीका सागर झेरी मगरसँग विवाह भए पनि उनका पति भने भारत गएर उतै सम्पर्कविहीन भएका छन् ।
विवाहपछि श्रीमान् नहुँदा घरमा सासू, ससुराले राम्रो गरेनन् त्यसपछि आफू आश्रय लिन जुम्ला आए पनि उनको परिवारको अवस्था झन् दर्दनाक छ, बुवाले आत्महत्या गरेको र आमा निराशा पनि ऋण तिर्न नसकेर सिंजा कनकासुन्दरी गाउँपालिका ३ लुड्कु गाउँ छोडेर चार छोराछोरीसहित सदरमुकाम कोठा भाडामा बस्दै आएकी छन् ।
यसबीच स्थानीय प्रशासन र आवाज नामक संस्थाले उनलाई सहयोग गर्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले उनलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको आवाज नामक संस्थाको सुरक्षित घरमा पठाइने तयारी भएको बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्