अब खाजामा पनि मोमो, मनोरञ्जनका लागि पनि 'मोमो'
नेपालीहरुका लागि दैनिक खाजाका रुपमा मोमो सबभन्दा लोकप्रिय परिकार हो । अब खाजा जस्तै मनोरञ्जनका लागि पनि मोमो आएको छ एपको रुपमा जसबाट गीत, चलचित्र, लाइभ टेलिभिजन सजिलै हेर्न सकिनेछ ।
मोर म्यूजिक, मोर मुभीको नारासहित नेपाल टेलिकमद्वारा संचालित यो ‘मोमो‘ एपलाई न्यू आइटी भेञ्चर कर्पोरेशनले म्यूजिक नेपालसंगको सहकार्यमा तयार गरेको हो ।
एपमा तत्काल ५ हजारभन्दा बढी गीत, ५ सयभन्दा बढी चलचित्र, १ हजारभन्दा बढी म्यूजिक भिडियोका साथै लाइभ टिभी सो हेर्न सकिनेछ । ‘मोमो’ दुई वर्षअघि सार्वजनिक भएको “मुभी एण्ड मस्ती”को परिस्कृत स्वरुप हो ।
“मोमो एप”को उद्देश्य नेपालीमाझ जसरी मोमो एउटा सर्वप्रिय परिकारका रुपमा स्थापित भएको छ त्यस्तै बनाउने रहेको छ । सोही उद्देश्यका साथ बढीभन्दा बढी फिचर र अन्य सुविधाहरुका साथ बहुचर्चित गीत, चलचित्र, भिडियोहरुमा सजिलै पहुँच पुर्याउनेछ ।
मोमो लगइन गर्न फेसबुक, इमेल तथा नेपाल टेलिकमको फोन नम्बरबाट लगइन गर्न सकिनेछ । मोमो लगइनपछि गीत, संगीत, चलचित्रदेखि लाइभ टिभी सो सम्पूर्ण आफ्नै मोबाइलमा सजिलै हेर्न सकिनेछ ।
२०१८ अक्टोबर ९ मा नेपालका लागि मात्र “मुभी एण्ड मस्ती”को नाममा सार्वजनिक भएको एपलाइए परिस्कृत गरी मोमो बनाइएको र अहिले विश्वव्यापी रुपमा डाउनलोड गर्न सकिनेछ । काराओके सुविधासहितको यो एपमा प्रवेश गर्नेहरु दिन प्रतिदिनन बढिरहेको र यसबाट भरपूर मनोरञ्जन लिएको टिप्पणी उपयोगकर्ताहरुले गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्