गीतको तहल्कापछि प्रेमगीत ३ को टिजरले तान्यो दर्शकको मन (टिजरसहित)

निर्माणको घोषणादेखि निकै मेहेनत गरिएका बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत ३ को टिजरले दर्शकको मन खिचेको छ । टिजर सार्वजनिक भएको एक दिनमै झण्डै चारलाखले हेरिसकेका छन् भने तीन हजारको हाराहारीमा कमेन्ट गरिएको छ ।
चलचित्रको पहिलो गीत हात्ती ढुंगामाको अपार सफलतापछि दोस्रो गीत हर युग प्रेमको युग सार्वजनिक हुँदा त्यसले पनि निकै लोकप्रियता पाएको थियो भने अब टिजरले धेरैको ध्यान तानेको छ । यो चलचित्र २ सय वर्ष अगाडिको प्रेमकथामा बनेको हो ।
आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गरेका हुन् । चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन रहेको छ ।
चैत्र २८ गते सार्वजनिक प्रदर्शनको मिति तोकिएको यो चलचित्रको विदेश प्रदर्शन विक्रीबाटै उक करोडभन्दा बढी कमाइ गरिसकेको छ । युरोप, अमेरिका, क्यानडा तथा मध्यपूर्व प्रदर्शनका लागि सम्झौता भैसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्