जल/वातावरणविश्व समाचार

जलवायु परिवर्तनसँग जुध्दै न्यूयोर्कको ‘सेन्ट्रल पार्क’, सहरलाई चिसो राख्न महत्वपूर्ण योगदान

विश्वकै चर्चित स्थलमध्ये एक संयुक्त राज्य अमेरिकाको विश्वप्रसिद्ध शहर न्यूयोर्कस्थित सेन्ट्रल पार्क पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण बढ्दो चुनौतीको सामना गरिरहेको छ ।

भारी वर्षा, डुबान र माटोको क्षय बढ्दै गएको छ भने लामो समयसम्म रहने तातो लहरले पार्कको पारिस्थितिक प्रणालीसँगै त्यहाँ पुग्ने मानिसमाथि पनि दबाब बढाइरहेको छ ।

तर जलवायु परिवर्तनको प्रभाव झेलिरहेको यही पार्कले न्यूयोर्क सहरलाई अत्यधिक गर्मीबाट जोगाउन पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ । पार्कले सहरको तापक्रम घटाउन, हावा स्वच्छ बनाउन, वर्षाको पानी व्यवस्थापन गर्न तथा रुखको छहारीमा मानिसलाई गर्मीबाट राहत लिन स्थान उपलब्ध गराइरहेको छ ।

सेन्ट्रल पार्क क्लाइमेट ल्याबका अनुसार पार्कभित्रको तापक्रम वरपरका सडकको तुलनामा करिब ५ डिग्री सेल्सियससम्म कम हुन सक्छ ।

“सेन्ट्रल पार्क र सहरी पार्कहरू मनोरञ्जन गर्ने स्थान मात्र होइनन् । यी सहरका लागि अत्यावश्यक हरित पूर्वाधार हुन्,” सेन्ट्रल पार्क कन्जर्भेन्सीकी निर्देशक यानिना कुपाभाले भन्नुभयो ।

संयुक्त राष्ट्रसंघको समाचार सेवा ‘यूएन न्युज’ले महासभाको साधारण बहसका लागि विश्वका नेताहरू न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेला हुनुभन्दा केही साताअघि गर्मीको एक दिन सेन्ट्रल पार्कको भ्रमण गरेको थियो ।

विश्व तापक्रम बढ्दै गएको अवस्थामा सहरहरूले कसरी आफूलाई अनुकूल बनाउन सक्छन् भन्ने विषयमा राजनीतिज्ञ र विज्ञहरूले बहस गरिरहेका बेला त्यसका केही व्यावहारिक उपाय भने संयुक्त राष्ट्रसंघको मुख्यालयबाट केही ब्लक पर रहेको सेन्ट्रल पार्कमै देख्न सकिन्छ ।

बदलिँदो जलवायुका लागि नयाँ वनस्पति

सन् १९८० को दशकमा सेन्ट्रल पार्कका लागि मुख्य चुनौती यसको पुनर्स्थापना गर्नु थियो । सन् १९७० को दशकको आर्थिक संकटपछि लामो समयसम्मको बेवास्ताका कारण पार्कको अवस्था खस्किएको थियो । तर अहिलेको प्राथमिकता बदलिँदो जलवायुको सामना गर्दै यसको ऐतिहासिक स्वरूप र प्राकृतिक सौन्दर्य जोगाउनु बनेको छ ।

पार्कका प्रसिद्ध क्र्याबएप्पल रूखका गल्लीहरू वसन्त ऋतुमा सेता, गुलाबी र बैजनी फूलले ढाकिँदा निकै आकर्षक देखिन्छन् । पार्कका कर्मचारीहरूका अनुसार त्यहाँको वातावरण यति रोमान्टिक छ कि विवाहको प्रस्ताव राख्नेहरूको संख्या निकै ठूलो छ ।

तर जाडोयाममा तापक्रम धेरै बढेमा स्याउका रूखमा फूल नै नफुल्ने जोखिम हुन्छ । त्यसैगरी फेब्रुअरीमा असामान्य रूपमा न्यानो मौसम हुँदा म्याग्नोलिया र चेरीका रूखहरू समयअगावै फुल्न सक्छन् ।

“यदि रूखहरू समयभन्दा अगाडि फुले भने त्यसपछि आउने चिसोले तिनलाई गम्भीर असर गर्न सक्छ,” कुपाभाले भन्नुभयो, “जाडोयाम क्रमशः न्यानो हुँदै गएमा ती रूखहरूमा फूल फुल्ने र परागसेचन हुने प्रक्रियामै समस्या आउन सक्छ ।”

ठूलो महानगरको बीचमा अवस्थित भएकाले पार्कका वनस्पति र वन्यजन्तुमाथि थप दबाब छ । न्यूयोर्कजस्ता बाक्लो बस्ती भएका सहरहरू वरपरका ग्रामीण तथा उपनगरीय क्षेत्रभन्दा छिटो तात्छन् र लामो समयसम्म तापक्रम कायम राख्छन् ।

त्यसैले सेन्ट्रल पार्कको संरक्षण तथा व्यवस्थापन गर्ने निकाय सेन्ट्रल पार्क कन्जर्भेन्सीले बदलिँदो जलवायुमा अनुकूल हुन सक्ने वनस्पतिका प्रजाति खोजिरहेको छ । विभिन्न जलवायु क्षेत्रका वनस्पति ल्याएर त्यसको परीक्षणसमेत भइरहेको छ ।

तर चुनौती सहज छैन । १९औँ शताब्दीमा परिकल्पना गरिएको ऐतिहासिक पार्कलाई २१औँ शताब्दीको बदलिँदो जलवायुमा अनुकूल बनाउनुका साथै विश्वभर परिचित बनाएको मौलिक स्वरूपसमेत जोगाउनुपर्ने अवस्था छ ।

‘एउटा पात पनि खेर जान दिइँदैन’

पार्कको उत्तरी क्षेत्रमा रहेको कार्यस्थलमा अहिले पात, झारपात तथा अन्य वनस्पतिजन्य सामग्री संकलन गरेर कम्पोस्ट बनाउने गरिएको छ । कर्मचारीका सुविधास्थलबाट निस्कने खाद्यजन्य फोहोरसमेत यसमा समावेश गरिन्छ ।

त्यसरी तयार गरिएको कम्पोस्टले बदलिँदो जलवायुको सामना गर्न वनस्पतिलाई आवश्यक पोषण दिन्छ । यसलाई बगैँचाको माटो उर्वर बनाउन, अत्यधिक प्रयोग भएका घाँसे मैदान पुनर्स्थापना गर्न तथा भारी वर्षाका बेला सतही पानीको बहाव घटाउन पनि प्रयोग गरिन्छ ।

“हामी चाहन्छौँ, यी सबै उपयोगी सामग्री पार्कमै रहून् र त्यसमा रहेका पोषक तत्त्व पुनः माटोमा फर्किऊन्,” कुपाभाले भन्नुभयो ।

कन्जर्भेन्सीले अब उक्त प्रशोधन केन्द्र विस्तार गर्ने योजना बनाएको छ । यसबाट थप जैविक सामग्री प्रशोधन गर्न सकिनेछ र सकेसम्म धेरै फोहोर ल्यान्डफिलमा जानबाट रोक्न सकिनेछ ।

पानीको एक–एक थोपा जोगाउने प्रयास

पानी संरक्षण पनि सेन्ट्रल पार्कको अर्को महत्वपूर्ण प्राथमिकता बनेको छ । पार्कको उत्तरी भागमा नयाँ भूमिगत पूर्वाधार निर्माण गरिँदैछ । यसले त्यहाँ रहेका विभिन्न जलाशय तथा जलस्रोतबीच पानीको पुनःप्रवाह सम्भव बनाउनेछ । यसबाट प्रणालीमा निरन्तर पिउनयोग्य पानी थपिरहनुपर्ने आवश्यकता हट्नेछ ।

“यो काम सर्वसाधारणले प्रत्यक्ष देख्ने किसिमको नहुन सक्छ । तर यसबाट सहरमा हुने पानीको बचत निकै ठूलो हुनेछ,” कुपाभाले भन्नुभयो ।

यससँगै कन्जर्भेन्सीले पेट्रोल र डिजेलबाट चल्ने उपकरणलाई क्रमशः विद्युतीय उपकरणले विस्थापन गरिरहेको छ । साना औजारदेखि ठूला घाँस काट्ने मेसिन, ट्र्याक्टर र फोहोर संकलन तथा थिच्ने उपकरणसम्म विद्युतीय विकल्प प्रयोगमा ल्याइँदैछ ।

चलिरहेका उपकरणलाई अनावश्यक रूपमा फाल्ने गरिएको छैन । उपकरण बदल्नुपर्ने अवस्था आएपछि र उपयुक्त विद्युतीय प्रविधि उपलब्ध भएपछि त्यसको स्थानमा विद्युतीय विकल्प प्रयोग गर्ने नीति अपनाइएको छ ।

विश्वका सहरका लागि सेन्ट्रल पार्कको पाठ

सेन्ट्रल पार्क कन्जर्भेन्सीको काम एउटा पार्कमा केन्द्रित भए पनि यसको अनुभव न्यूयोर्कभन्दा धेरै परसम्म उपयोगी हुन सक्छ । विश्वको आधाभन्दा बढी जनसंख्या अहिले नै सहरमा बसोबास गर्छ ।

सन् २०५० सम्ममा यो अनुपात करिब ७० प्रतिशत पुग्ने अनुमान गरिएको छ । तापक्रम बढ्दै जाँदा र बाढीको जोखिम थपिँदै जाँदा सहरी हरित क्षेत्रको महत्व पनि बढ्दै गएको छ ।

“अन्य सहरहरूले यहाँबाट लिन सक्ने मुख्य पाठ भनेको हरित पूर्वाधारमा दीर्घकालीन लगानी अत्यावश्यक छ भन्ने हो । यसले दैनिक जीवनमा सहरको वातावरण राम्रो बनाउन मात्र सहयोग गर्दैन, भविष्यमा आउन सक्ने जलवायु तथा वातावरणीय परिवर्तनका लागि पनि सहरलाई तयार बनाउँछ,” कुपाभाले भन्नुभयो ।

जलवायु परिवर्तनका कारण सहरहरूमा गर्मी, भारी वर्षा र बाढीको जोखिम बढिरहेका बेला सेन्ट्रल पार्कले हरित क्षेत्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा होइन, सहरी जलवायु अनुकूलनको महत्वपूर्ण पूर्वाधारका रूपमा विकास गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।

‘यूएन न्युज’का लागि ‘येभगेनिया क्लेस्चेभा’को रिपोर्ट

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.