कोरोनाका कारण मृतकको संख्या ह्वात्तै बढेपछि इटलीमा १० दिन विद्यालय बन्द
चीन हुँदै युरोप पुगेको कोरोना भाइरस संक्रमणको प्रकोप खेपिरहेको इटलीमा मृतकको संख्या ह्वात्तै बढेपछि बिहीवारदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको छ ।
त्यसै गरी इटली सरकारले अब सिनेमाघर र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरिरहेको रोयटर्सले जनाएको छ ।
सरकारले मस्यौदा गरिरहेको एउटा आदेशमा सर्वसाधारण मानिसलाई यथासम्भव अङ्कमाल नगर्न तथा हात नमिलाउन सुझाव दिने उल्लेख छ ।
त्यहाँ विद्यालय र विश्वविद्यालयहरू मार्च १५ सम्म बन्द हुने अधिकारीहरूले बताएका छन् । कोरोनाभाइरस सङ्क्रमणका कारण इटलीमा हालसम्म १०७ जनाको मृत्यु भइसकेको छ । त्यो युरोपको सबैभन्दा गम्भीर संक्रमण हो । प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताउनुभएको छ ।
देशको उत्तरी क्षेत्रमा ३,००० भन्दा बढी मानिसमा संक्रमण देखिएको छ । तर इटलीका अन्य २० मध्ये १९ क्षेत्रमा पनि सङ्क्रमण फैलिएको पुष्टि भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्