डेनमार्कमा भेटियो हजार वर्ष पुरानो विशाल कपडा उद्योग’
डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा उत्पादन केन्द्र फेला परेपछि भाइकिङ समाज अपेक्षाभन्दा धेरै व्यवस्थित, विकसित र आर्थिक रूपमा सङ्गठित रहेको नयाँ प्रमाण प्राप्त भएको छ।
पुरातत्त्वविद्हरूका अनुसार यो खोजले भाइकिङहरू केवल आक्रमणकारी वा योद्धा मात्र नभई उन्नत उत्पादन प्रणाली र सुदृढ व्यापारिक सञ्जाल निर्माण गर्ने समाज रहेको पुष्टि गरेको छ।
डेनमार्कको जुटल्यान्ड प्रायद्वीपस्थित सोफ्टेन क्षेत्रमा मोएसगार्ड सङ्ग्रहालयका विशेषज्ञहरूले करिब एक लाख वर्गमिटर क्षेत्रमा फैलिएको विशाल बस्ती फेला पारेका हुन्। आरहुस सहरबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित यो स्थल इस्वी संवत् ६०० देखि ९५० बीचको पछिल्लो फलाम युग तथा प्रारम्भिक भाइकिङ कालसँग सम्बन्धित रहेको अनुमान गरिएको छ।
उत्खननको नेतृत्व गर्नुभएकी पुरातत्त्वविद् लिभ स्टिडिङ रेहर–ल्याङबर्गका अनुसार सो बस्ती कपडा उत्पादनको प्रमुख केन्द्रका रूपमा विकसित भएको थियो।
उत्खननका क्रममा धागो कात्ने उपकरण, करघाका तौल, कपडा उत्पादनसँग सम्बन्धित संरचना तथा ८० भन्दा बढी ‘पिट हाउस’ फेला परेका छन्। अर्ध–भूमिगत यी संरचनाहरू भाइकिङ कालमा कार्यशाला र आवासका रूपमा प्रयोग गरिन्थ्यो।
यसका साथै चाँदीका सिक्का, काँचका मोती र विभिन्न भाँडाकुँडासमेत फेला परेका छन्। उत्पादन र शिल्पका लागि छुट्टाछुट्टै क्षेत्र तथा एउटा मात्र आवासीय भवन भेटिएकाले सम्पूर्ण उत्पादन प्रणाली कुनै प्रभावशाली व्यक्ति वा समूहको नियन्त्रणमा रहेको पुरातत्त्वविद्हरूले अनुमान गरेका छन्।
गत तीन दशकमा स्थानीय बासिन्दाले मेटल डिटेक्टरमार्फत यस क्षेत्रमा धेरै चाँदीका सिक्का फेला पारेका थिए। डेढ वर्षअघि सडक तथा औद्योगिक क्षेत्र निर्माणअघि गरिएको परीक्षण उत्खननपछि भने अनुसन्धानकर्ताहरूको चासो अझ बढेको थियो।
मोएसगार्ड सङ्ग्रहालयका इतिहासकार कास्पर एन्डरसनले सोफ्टेनको खोजले त्यस समयको स्थानीय अर्थतन्त्र, संस्कृति र राजनीतिक संरचना बुझ्न महत्त्वपूर्ण आधार प्रदान गरेको बताउनुभयो। उहाँका अनुसार त्यतिबेला आरहुस अन्तर्राष्ट्रिय व्यापार तथा शासकीय केन्द्रका रूपमा विकसित भइसकेको थियो।
गत वर्ष नजिकैको लिस्बर्ज क्षेत्रमा फेला परेको अर्को भाइकिङ बस्ती सम्भवतः उच्च वर्गीय परिवारको आवास रहेको मानिएको छ। एन्डरसनका अनुसार सोफ्टेनजस्ता ग्रामीण बस्तीमा उत्पादन गरिएका सामग्री ठूला व्यापारिक केन्द्रमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्थे।
उहाँले यति विशाल उत्पादन केन्द्र केवल स्थानीय आवश्यकताका लागि मात्र नभई फराकिलो बजारलाई लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो। सोफ्टेनमा उत्पादित कपडाले स्थानीय सीमाभन्दा धेरै ठूलो व्यापारिक बजार पाएको उहाँको भनाइ छ।
भविष्यमा गरिने कार्बन डेटिङ र पराग विश्लेषणबाट यहाँ कस्तो प्रकारको कपडा उत्पादन हुन्थ्यो भन्ने विषय अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।
सन् ७९३ देखि १०६६ सम्म फैलिएको भाइकिङ युगमा नोर्स समुदायले युरोपका विभिन्न भागमा व्यापार, उपनिवेश विस्तार, युद्ध र समुद्री यात्रा गरेका थिए।
उत्तरी अमेरिकासम्म पुगेका भाइकिङहरूलाई प्रायः आक्रमणकारी समूहका रूपमा चित्रण गरिए पनि सोफ्टेनको यो खोजले उनीहरू व्यवस्थित उत्पादन, श्रम विभाजन र अन्तर्राष्ट्रिय व्यापारमा आधारित उन्नत समाज भएको थप पुष्टि गरेको पुरातत्त्वविद्हरूले बताएका छन्।




प्रतिक्रिया राख्नुहोस्