प्रबास

हालसम्म युक्रेनबाट पाँचसय ११ जना नेपाली सुरक्षित स्थानमा

रुस–युक्रेन युद्धका कारण विश्वका अरु मुलुकका नागरिक जस्तै युक्रेनमा रहेका नेपालीहरु पनि सुरक्षित स्थानमा जाने क्रम जारी रहेको छ । हालसम्म ५ सय ११ जना नेपाली सुरक्षित स्थानमा पुग्न सफल भएका छन् ।

रुस–युक्रेन युद्ध प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् ।

युद्धको चरम परिस्थितिका कारण कष्टकर यात्राका साथ ४०३ जना पोल्यान्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, छ जना हङ्गेरी र चार जना नेपाली नागरिक माल्दावामा सुरक्षित पुुगेका छन् ।

तीमध्ये चार जनामा युद्धको विकराल परिस्थितिको सामना गर्नुपर्दा मानसिक समस्या देखिएको समितिले उल्लेख गरेको छ ।

युक्रेनमा रहेका धेरैजसो नेपाली तथा अन्य विदेशी नागरिक घण्टौँ पैदल हिँडेर युक्रेन र अन्य देशको सीमा क्षेत्रमा स्थापना गरिएको शरणार्थी क्याम्प पुगेका छन् ।

युक्रेनबाट बाहिरिएका मध्ये ४० जना नेपालीले मात्र यात्रा अनुमतिपत्र लिएको जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्काले जनाउनुभयो ।

समितिको बैठकमा जानकारी दिँदै उहाँले नेपाली नागरिक सुरक्षित स्थानको खोजी गर्दै पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, रोमानिया र माल्दावा देशमा पुगेको बताउनुभयो ।

समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष बद्री केसीले युक्रेनमा स्थायी रूपमा बसोवास गरिरहेका ४० जनाको परिवारले भने युक्रेन छाड्न नसकेको जानकारी दिनुभयो ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा। बोधराज सुवेदीले उद्धार गर्नुपर्ने नेपालीको सङ्ख्या अब कम हुँदै गएको बताउनुभयो । उहाँले अझै केही नेपाली नागरिक युक्रेन युद्धमा हराइरहेको आशङ्का रहेको जनाउनुभयो ।

स्लोभाकियाका सङ्घ प्रतिनिधि जयप्रसाद सिवाकोटीले आफ्नै रेस्टुरेन्टमा सेल्टर बनाएर नेपाली, भारतीय, बङ्गलादेशी र सेनेगलका नागरिकलाई राख्नुभएको सङ्घले जनाएको छ । कतिपय देशमा पुग्नुभएका नेपाली नागरिकका लागि आर्थिक सहयोग जुटाउन सङ्घले पहल गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.