१०० देखि १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान (फोटोहरु)
जीवनको सबभन्दा अमूल्य दानका रुपमा हेरिने मतदानमा शताब्दी आयु पार गरेका वृद्धवृद्धाको पनि उत्तिकै चासो रहने गरेको छ । आजको निर्वाचनमा यो समाचार तयार पार्दासम्म तनहुँमा १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।
समाचार अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी १०७ वर्षीय गणेशबहादुर रावतले मतदान गर्नुभएको हो ।
तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट रावतले मतदान गर्नुभएको हो । मतदानपछि उनले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
यसै गरी झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।

झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गर्नुभएको हो । उहाँ छोरा र नातिको सहयोगमा मतदान गर्ने आउनुभएको थियो ।
यसै गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ पात्लखर्केका १०१ वर्षीय रिबहादुर छन्त्यालले रितुङ मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

यसै गरी लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ भोर्लेटारस्थित ईशानेश्वर मावि मतदान केन्द्रमा १०० वर्षकी धनसुब्बा देवी गुरुङले मतदान गर्नुभएको छ ।

तस्वीरहरु- रासस





प्रतिक्रिया राख्नुहोस्