जल/वातावरण

चार महिनालाई पुग्ने औषधि मौज्दात : हल्लाको पछि नलाग्न औषधि व्यवसायीको आग्रह

कोरोना भाइरसको संक्रमणका कारण आपूर्ति हुने औषधि कम भएको भन्दै औषधिको चरम अभाव हुने हल्ला चलिरहेका बेला औषधि व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आफूहरुसँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिदै सो आग्रह गर्नुभएको हो ।

सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजना गरेको बताउँदै उहाँले नेपालका तीन करोड जनतालाई पुग्ने औषधि व्यवसायीहरुसँग रहेको र अनावश्यक औषधि खरिद गरेर नराख्न सर्वसाधारणलाई महासचिव आचार्यले आग्रह गर्नुभयो ।

हिजो मात्रै एक व्यवसायीले बंगलादेशबाट दुई करोड प्यारा सिटामोल नेपाल ल्याउन सुरु गर्नुभएको समेत महासचिव आचार्यले जानकारी दिनुभयो । बिभिन्न मुलुकहरुबाट व्यवसायीहरुले आयात गरिरहेको र बजारमा औषधि स्टक रहेकोले औषधिको बारेमा अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उहाँले सपष्ट पार्नुभयो ।

यता औषधि उत्पादन गर्दै आएको नेपाल औषधि उत्पादक संघले नेपालमा ७० देखि ८० प्रकारका औषधि आफूहरु उत्पादन गर्न सक्षम भएको बताएको छ । नेपालमा धेरै औषधि यही उत्पादन हुने भएकोले औषधि अभाव हुन नदिन व्यवसायीहरु छलफलमा लागि रहेको नेपाल औषधि उत्पादक संघका महासचिव बिप्लब अधिकारीले जानकारी दिनुभयो ।

भारत र चीनबाट औषधि आउन रोकिहाले पनि बंगलादेश लगायत अन्य देशबाट कच्चा पदार्थ ल्याएर औषधि बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

सरकारले कच्चा प्रदार्थ ल्याउन सहजीकरण र सहुलियत गरे स्वदेशी औषधि कम्पनीहरू उत्पादन गर्न सक्षम भएकोले आत्तिहाल्ने अवस्था नरहेको अधिकारी बताउनुहुन्छ ।

यसै गरी औषधि आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड भारत प्रस्थान गर्नुभएको छ । नेपालमा औषधि अभाव हुन नदिन भारत सरकार सँग कुरा गर्न आजै भारत प्रस्थान गर्न लागेको र आफू विमानस्थल पुगेको राज्यमन्त्री दुगडले जानकारी दिनुभएको छ ।

भारतले कोरोनाको प्रकोपका कारण विदेश निर्यात हुने औषधिमा रोक लगाउने भए पछि नेपालमा औषधिको अभाव हुने आशंका देखिएको भए पनि भारतले नेपालमा चाहिने अत्यावश्यक औषधिको लिष्ट मागेको जानकारी दिदै यस बिषयमा पनि भारतीय अधिकारीहरूसँग छलफल हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.