जल/वातावरण

प्रधानमन्त्री ओलीलाई खोप लगाएर दोस्रो चरणको खोप अभियान सुरु

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुभारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहान १०ः०० बजे खोप लगाएर दोस्रो चरणको खोप अभियान शुभारम्भ गरिएको छ ।

प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाउनुभएको हो । खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गर्नुभयो ।

यसै गरी प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाउनुभएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

यस्तै हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने उहाँले बताउनुभयो । खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ ।

यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

Back to top button