राजनीति

प्रधानमन्त्रीले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको कांग्रेसको आरोप

नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको निष्कर्ष निकालेको छ ।

बिहिबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमति पालना गर्दै आएको भए पनि प्रधानमन्त्रीले एकपक्षीय ढङ्गले गठबन्धन तोडिएको बताएको हो ।

बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विगतमा संविधानको रक्षा र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले विभिन्न दल सम्मिलित गठबन्धन बनाएको र सोहीअनुसार निर्वाचनमा भाग लिएको समेत बताउनुभयो ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले पछिल्लो समयमा परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सरकार गठनमा दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ ।

साथै सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएको र सोबारे सभामुखलाई आजै जानकारी गराउने पनि प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।

बैठकले सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको र आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारीरुपमा प्रस्तुत हुन निर्देशन गरेको छ । नेपाली कांग्रेस प्रतिनिधिसभाको ठूलो दल हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.