राजनीति

प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रमुख प्रतिपक्षले उठाएका महत्वपूर्ण विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको बताउनुभएको छ ।

प्रमुख सचेतक लेखक

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकारसँगको भेटघाटमा उहाँले मन्त्री वा कुनै व्यक्ति विशेष नभई हजारौँ जनताको अर्बाैं रकम हिनामिना र अपचलन भएको विषयमा छानबिन गरौँभन्दा त्यसलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, “जनताले छाक काटेर सहकारीमा राखेको रकम अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्छ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानलाई राम्रो बनाएर लैजानुपर्छ ।” आफ्नो पार्टी सरकारमा रहँदा पनि ऐन निर्माणका लागि आवश्यक विधेयक ल्याउने र पारित गर्ने विषयमा कमी कमजोरी भएको स्वीकार्दै उहाँले भन्नुभयो, “हामी अहिले प्रतिपक्षमा छौँ, हिजोको त्यो कमी कमजोरी यथावत छ । विधायनको काम कमजोर भयो भनी आएका सुझाव बोधगम्य छ ।”

संसद्को प्रभावकारिता हुन सकेन र जनतालाई संसद् हाम्रा लागि हो भन्ने अनुभूति भएन भने व्यवस्थालाई नै कमजोर तुल्याउन सक्नेतर्फ विचार पु-याउन आवश्यक रहेको बताउँदै नेता लेखकले संसद्लाई काम दिने र जवाफदेही तुल्याउने जिम्मेवारी सरकारकै भएको विचार प्रकट गर्नुभयो ।

संसद्मा दलका नेताबीच मन्तव्यका क्रममा हुने आलोचनात्मक क्रियाकलापले अवलोकनका लागि आउने विद्यार्थीले के पाठ सिक्न सक्छन् भन्नेमा सचेत हुन आवश्यक रहेको बताउँदै पूर्वमन्त्री लेखकले नेकपा (एमाले) सँग नयाँ समीकरण बनाउने र अहिलेको गठवन्धन भत्काउने खेलमा आफ्नो पार्टी नरहेको प्रतिक्रिया दिनुभयो ।

देश र जनताका महत्वपूर्ण र आधारभूत विषयमा सरकार, प्रमुख प्रतिपक्ष दलबीच सहमति, सहकार्य र समन्वय हुन जरुरी रहेको बताउँदै उहाँले यसपटक पहिलाको जस्तो छायाँ सरकार बनाएर अघि बढ्ने मनस्थितिमा कांग्रेस नरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.