त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछि आन्तरिक विमानस्थल सरसफाइमा जुट्दै खेम शर्मा
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याउनुभएका गैरआवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुट्नुभएको छ ।
दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा परिवर्तन ल्याउनुभएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक विमानस्थलमा समेत सरसफाइ अभियान सञ्चालन गर्न नेपाल आउनुभएको छ ।
“सरसरफाइ अभियानका लागि पहिलो चरणमा १० वटा विमानस्थलको निरीक्षण गर्ने काम भएको छ”, नेपालगञ्ज विमानस्थलको निरीक्षणपछि शर्माले रासससँग भन्नुभयो, “नेपालगञ्ज विमानस्थल अन्य विमानस्थलको तुलनामा राम्रो छ, तर अझै धेरै राम्रो गर्न सकिन्छ ।” शहरको विकास र सभ्यता सरसफाइबाट झल्किने भएकाले विमानस्थललाई सफा राख्नुपर्नै उहाँको भनाइ छ । अष्ट्रेलियामा सरसफाइसम्बन्धी काम गरेर सीप हासिल गर्नुभएका शर्माले अहिले आफँै सरसफाइ कम्पनी सञ्चालन गर्दै आउनुभएको छ ।
सरसफाइमा सिकेको सीप र अनुभवलाई आफ्नो मुलुकको विमानस्थल सरसफाइ अभियानमा प्रयोग गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “विदेशी नागरिक पहिलोपटक नेपाल आउँदा विमानस्थलमा पुग्छन्, विमानस्थलको सरसफाइको अवस्थाले नेपालप्रति उनीहरुको धारणा बन्ने गर्दछ”, शर्माले भन्नुभयो, “त्रिभुवन विमानस्थल सरसफाइ अभियानमा पाएको सफलता र प्रशंसाले गर्दा अन्य विमानस्थलमा पनि सरसफाइको अभियान शुरु गरेका छौँ ।”
अभियान सञ्चालनका लागि शर्माले शनिबारसम्म पश्चिम नेपालका धनगढी, नेपालगञ्ज र गौतमबुद्ध विमानस्थल भैरहवाको निरीक्षण गरिसक्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहमतिमा विमानस्थल सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । “हामी आफैँले वा विदेशबाट मान्छे ल्याएर सरसफाइ अभियान सञ्चालन गर्ने होइन”, उहाँले भन्नुभयो, “सरसफाइका कर्मचारीलाई आफूले जानेको प्रविधि सिकाएर हाम्रो अनुपस्थितिमा पनि यहाँका कामदार सरसफाइ गर्न सक्षम हुने गरी सीप हस्तान्तरण गर्नेछौँ ।”
सरसफाइका क्षेत्रमा काम गर्ने कर्मचारीलाई तालीम, उपकरण र सुरक्षा सचेताको अभाव रहेकाले काम गर्दा आफू पिछडिएको अनुभूति गर्ने गरेको पाइएको शर्माले उल्लेख गर्नुभयो । “हामीले विमानस्थलको सरसफाइमा कुनै नयाँ काम गर्न गइरहेको होइन, भइरहेको कामलाई परिणाममुखी बनाउने मात्र हो”, शर्माले भन्नुभयो, “सबैभन्दा पहिले मैले सरसफाइ गर्ने कामदारमा आफ्नो कामप्रतिको हिन भावना हटाउने र आत्मसम्मान जगाउने काम गर्ने हो ।”
नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थलको सफाइ भएमा मात्र अन्तरराष्ट्रियरुपमा देशको छवि सुन्दर बन्छ भन्ने शर्माको धारणा छ । गैरआवासीय नेपाली आफ्नो ज्ञान, सीप र आर्जन गरेको धन आफ्नो मातृभूमिका लागि सदुपयोग गर्न चाहन्छन् भन्ने यो एक उदाहरण भएको उहाँ बताउनुहुन्छ । चितवनको भरतपुर महानगरपालिका निवासी उहाँको कम्पनीले भरतपुर विमानस्थल, भरतपुर क्यान्सर अस्पताललगायत कैयौँ स्थानमा यस्तो सरसफाइ अभियान सम्पन्न गरिसकेको छ । उहाँले आफूले ती संरचना वा स्थल सफा गर्नेभन्दा पनि यहीँका जनशक्तिलाई सीप र कार्यशैली सिकाउने काम गर्दै आउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्