बिचार

नेपाली समाजमा नारीको स्थान- विगत, वर्तमान र अन्तर्राष्ट्रिय नारी दिवस

आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर धुमधामसंग महिला अधिकारका विषयमा चर्का भाषण गरेर, नारा घन्काएर, प्रतिबद्धता जनाएर मनाइँदैछ । नेपालमा पनि यो दिवस मनाइन्छ । पश्चिमा मुलुकबाट सुरु भएको नारी दिवस मनाउने यो चलन हाम्रा लागि खासै नौलो नभए पनि नेपाली समाजमा स्थापित, मूल्य, मान्यता, धार्मिक र सांस्कृतिक परिवेशले नारीलाई दिएको स्थान र महत्व लत्याउँदा आज अरुले घोकाइदिएको नारा भट्याउनुपर्ने भएको छ । वास्तवमा नेपाली समाजमा नारीलाई पुरुषकोभन्दा उच्च दर्जा दिएको छ । नारीलाई शक्तिको रुप मानेको छ । त्यसैले त नेपाली समाजमा जीवित देवीका रुपमा कुमारीको पूजा गरिन्छ । “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता” अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवानको बास हुन्छ । शास्त्रमा नारीको अर्थ र परिभाषा यसरी दिइएको छ ।

त्यसैले नारीलाई घरकी लक्ष्मी, सरस्वती र दुर्गाका रुपमा चिनिन्छ– धन, ज्ञान र शक्तिको स्रोत मानिन्छ । यसको विपरीत आधुनिक समाज भयो भन्दै आउँदा नारीलाई कमजोर ठान्ने, भोगको वस्तु मान्ने, उनीहरुलाई अवसर नदिने जस्ता सामाजिक कुप्रथा कायम रहेको हुँदा आज समाज भाँडिदै छ, विकृति हुँदैछ ।

गार्गी जस्ता विदुषीले जन्मलिएको नेपालमा नारीशिक्षा कहिल्यै वर्जित थिएन । तर समयको कालखण्डमा नारीलाई चुलोचौकाभित्र सीमित गरियो, त्यसैले घरपरिवार अनुशासित हुन सकेन । यदि नारीलाई शिक्षामा पहिलो प्राथमिकता दिने हो भने अपराधका धेरै घटना स्वतः कम हुनेछन् । नारीलाई धन हैन शिक्षा दिनु पहिलो कर्तव्य हो । नेपालको संविधानले दिएको शैक्षिक अधिकारको निर्वाध पालना भए समाज सुखी हुन्छ ।

हाम्रो मान्यता हो “विद्या धनम् सर्वधनम् प्रधानम्” । जो शिक्षित छ त्यो शिक्षा अथवा ज्ञान नै उसको धन हो र त्यो धन श्रेष्ठ धन हो भनिन्छ । यसमा पनि नारी शिक्षित हुनु भनेको अरु श्रेष्ठ कार्य हो । त्यसैले नारीलाई शिक्षाको अवसर दिनु भनेको घर परिवारको उन्नति र समाजको विकास हो । एउटा नारी शिक्षित हुँदा उसले धेरैलाई शिक्षित र सही बाटो देखाउँछिन् । एउटा शिक्षित र सक्षम नारीले घर मात्र हैन सिंगो समाजलाई सत्मार्गमा डोर्याउन सक्षम भएका उदाहरण अनेक छन् । तर अझै पनि नारीलाई शिक्षा कि पैतृक सम्पत्ति, कति उमेर पुगेपछि विवाह गर्ने जस्ता बहसहरुमा समाज रुल्मुलिएको छ ।

नेपालमा कूल जनसंख्यामा महिलाको संख्या बढी छ । उनीहरु श्रमका हिसावमा पुरुषभन्दा बढी सक्रिय हुन्छन, उनीहरुको मेहेनतको गणना राष्ट्रिय आयमा हुन सकेको छैन । शिक्षाको हकमा पनि उनीहरु पछि पारिएका छन् । संकुचित सोचाईका कारण घरायसी कामकाजमा मात्र भुलेर शिक्षा आर्जनबाट वञ्चित भएका नारीहरुलाई पुरुषसरह शिक्षाको अवसर दिलाउनुपर्छ भन्ने मान्यता कानुनी रुपमा स्थापित भए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । अहिलेको आवश्यकता शिक्षामा समान अवसर हो । शिक्षाले नै मानिसलाई योग्य र सक्षम बनाउँछ ।

अहिले नारीका विषयमा धेरै बहस भैरहेका छन् । पश्चिमी समाजका मान्यताहरु स्थापित गर्ने जमर्को पनि भैरहेको छ । वास्तवमा नारी अधिकारका कुरा नाराले हैन व्यवहारमै उतारिनु पर्दछ । सडकमा नारी अधिकारका चर्का नारा घन्काउनेहरु घरमा छोरा र छोरीको शिक्षामै भेदभाव गर्ने गरेका प्रशस्त उदाहरण छन् । यसको अर्थ के हो भने प्रत्येक अभिभावकलाई छोरा र छोरीबीच शिक्षा, स्वास्थ्य र स्याहार सुसारमा भेदभाव गर्नु हुन्न र गरेमा कानुनी कारबाही भोग्नुपर्छ भन्ने चेतना दिनु आवश्यक छ । अहिले यही कुराको अभाव छ ।

सबैले भन्छन्, मान्छन्– नारी जननी हुन् । तर, त्यही जननीबाट जन्मनेले नारीकै अपमान गरिरहेको हुन्छ । यो नैतिक पतनको अवस्था हो । नारीको कोखबाट जन्मिएर उसैको काखमा लडिबुडी गर्दै हुर्किएका बालबालिकाका निम्ति आमाको काख नै पहिलो शिक्षालय हो । जुन नारी शिक्षित छे, उसले आफ्नो अन्तरमनको कुनामा सन्तानलाई जन्मदेखि नै प्रत्येक पल असल नागरिक बनाउने सपना सजाएकी हुन्छे र त्यसैका लागि निरन्तर प्रयत्नरत रहन्छे । आजका बालक राष्ट्रका लागि भोलिका कर्णधार भएकाले एउटा बालक शिक्षित बनाउन पनि आमा शिक्षित हुनु आवश्यक छ ।

शिक्षित नारीले आफ्ना सन्ततिको स्वास्थ्य, शिक्षा र बानी–व्यहोराप्रति सचेतता देखाएर असल अनि निस्वार्थ भूमिका निर्वाह गर्न सक्छे, त्यति अशिक्षितबाट अपेक्षा गर्न सकिंदैन । तसर्थ राष्ट्रका लागि योग्य र असल नागरिक उत्पादनका लागि पनि नारी शिक्षा अत्यावश्यक छ ।

माथि नै उल्लेख गरियो कि जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ भगवानको बास हुन्छ । हो, नारीको सम्मान भनेको उसलाई दिइने शिक्षा र व्यक्तित्व विकासको अवसर हो । त्यो अवसरले जन्मघरमा रहँदासम्म त्यहाँ र पराइघरमा गएपछि सोही घरलाई स्वर्गतुल्य राख्न सक्षम हुन्छे । एउटा अविभावकका लागि आफ्नी छोरीको त्यो सफलताभन्दा ठूलो अरु केही नहुनुपर्ने हो । तर विडमबना शिक्षामा भेदभाव, आहार–विहारमा भेदभाव अनि सामाजिक सक्रियतामा पनि भेदभाव छ । यो भेदभावको शिकार हरेक परिवार र भाविष्यमा बन्ने परिवार समेत भैरहेको छ । यसको अन्त्य आवश्यक छ र यो नै समाज विकासको पहिलो आधार पनि हो ।

नारी शिक्षा समुन्नत, नैतिक र शान्त समाजको आधार हो । यसका लागि धेरै टाढा जानै पर्दैन– हामीले दैनिक जीवनमा प्रयोग गरिरहेको केही धार्मिक मान्यतालाई केवल कर्मकाण्डी पूजाको रुपमा मात्र नहेरी त्यसलाई व्यवहारमा उतार्ने हो भने धेरै समस्या समाधान हुन्छ । विद्याकी देवी सरस्वती, धनकी देवी लक्ष्मी र शक्तिकी देवी दुर्गाको आराधना गर्ने हामी आफ्नी छोरी वा बुहारी यी तीनवटै शक्तिको एउटै स्वरुप हो भन्ने बुझ्नु आवश्यक छ ।

महिला र पुरुष एक रथका दुई पांग्रा भएपछि एकलाई अवसर र अर्कोलाई विभेद गर्नु नै महापाप हो । शास्त्रले नारीलाई पृथ्वी र पुरुषलाई प्रकृति भन्छ । यी दुईको मिलनबिना सृष्टि नै चल्दैन भने नारीलाई भेदभाव अपराध नै हो । आफ्नो मूल्य, मान्यता र स्थापित दर्शनको अवज्ञा गरेर घोकाइदिएको नारा घन्काएर मात्र हुँदैन । देवीको रुपमा पूजिने नारीलाई शिक्षा र स्वास्थ्यको प्रचूर अवसर मात्र दिने हो भने हामीले आयातित नारा घन्काउन पर्दैन । अनि भेदभावमा संलग्नहरुले कानुनभन्दा पहिलो शास्त्रले नारीलाई दिएको दर्जा अनुभूत गर्न सके नेपाली समाज विश्वकै लागि उदाहरणीय र अनुकरणीय सहिष्णु समाजका रुपमा पुनः स्थापित हुनेछ ।

(लेखक श्रेष्ठ उर्सा मेजर चिल्ड्रेन एकेडेमीका संचालक सदस्य हुनुहुन्छ)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.