बिचार

सन्दर्भ नारी दिवस : नारी अधिकार, शक्ति र शास्त्रीय मान्यता

आज मार्च ८ गते अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैछ । लैंगिक रुपमा समान विश्वको कल्पना गर्दै पूर्वाग्रह, भेदभावमुक्त, विविधता, समान र समावेशी संसारको आकांक्षा राख्दै नारी दिवस मनाउन थालिएको ११ दशकभन्दा बढी भैसकेको छ ।

तर, नारी अधिकार र समानताका कुरा चर्का नारा र भाषणमा जति बढी छ व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन । कानुनी रुपमा स्पष्ट किटानीका साथ समान अधिकार, सहमागिता स्थापित गरिए पनि व्यवहारमा त्यसलाई पालना गर्न सकिएको छैन ।

बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक नेपालको धार्मिक–सांस्कृतिक मान्यतामा नारीलाई उच्चस्थान दिइएको छ र यसको अभ्यास भैरहेको छ । हरदिनको सुरुवात नारी शक्तिका पूजा गरेर हुन्छ । तर, व्यवहारमा यसलाई विस्मृतिमा पार्दै भेदभावको रेखा कोरिएको छ ।

छोरी जाति अर्थात् नारीको अनेकानेक महत्वलाई प्रस्ट्याउँदै वैदिक शास्त्रहरुले ज्ञान, धन र शक्तिको स्रोतका रुपमा नारीलाई स्थापित गरेको छ । यस्तो संस्कार र परम्परा विगतमा भए पनि केही शताब्दीयता नारीलाई हेर्ने नेपाली समाजको दृष्टिकोणमा आएको परिवर्तनले भेदभावको खाडल खनेको छ ।

विश्वका हरेक मुलुकले नारी अधिकारको मुद्दालाई आफ्नो मुलुकको संविधान र कानुनमा अन्तर्राष्ट्रिय सन्धिको प्रावधान अनुसार स्थापित गरिएको छ । तर, विश्वभर नै किन नारी अधिकारको आवाज झन् जटिल बन्दै गएको छ ।

नारी अधिकारका नारा किन सधैं सीमित र उस्तै प्रकृतिका रहिरहेका छन् ? नारीलाई हेर्ने दृष्टिककोणमा किन परिवर्तन आउन सकेन ? नारी सधैं किन अपमानित मात्रै हुनुप¥यो ? यी तमाम विषयहरुको गहिराईमा जानुपूर्व मानव सभ्यताको सुरुवाती अवस्थादेखिको सामाजिक वनावटलाई हेर्नुपर्छ । त्यो गहिराईमा पुग्ने हो भने जव मानिस शिक्षित, विकसित, आधुनिक र विज्ञान–प्रविधि र अर्थतन्त्रमा उन्नति गर्दै गयो तब विभेदको खाडल खन्न थालिएको पाइन्छ ।

जति धेरै विकास र समृद्धि उति बढी अधिकार र समानता कुण्ठित हुने आधुनिक परिपाटीलाई छाडेर इतिहास, संस्कृति, संस्कार र शास्त्रहरुमा उल्लेख गरिएका विवरणहरु मनन् गर्ने हो भने समाज विकासको क्रममा नारीहरु अहिलेजस्तो अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्थामा थिएन, मातृसत्ता हावी थियो र पुरुषमाथि नारीको हैकम चल्थ्यो भनिन्छ । नेपालकै सन्दर्भका कुरा गर्ने हो भने हाम्रा धर्मशास्त्र र धार्मिक अभ्यासहरुमा पनि त्यस्तो देखिन्छ । हामी देवतालाईभन्दा देवीलाई बढी शक्तिशाली मान्छौं र शास्त्रहरुले त्यो स्थापित गरेको छ । कुनै पनि देवतालाई धन, ज्ञान र शक्तिको आराध्य मानिंदैन । धनका लागि लक्ष्मी, ज्ञानका लागि सरस्वती र शक्तिका लागि दुर्गाको आराधना गरिन्छ । घरमा छोरीको जन्म भए अहिले पनि लक्ष्मीको आगमन भयो भनेर खुसियाली मनाइन्छ ।

यस्तो समाजिक अभ्यास थियो र छ तापनि जब छोरी हुर्कदै–बढ्दै जान्छे तब घरमा भएको छोरासंग उनको विभेद सुरु हुन्छ । हिजोकी लक्ष्मी आज घरकी बोझ बन्न पुग्छे । यहीबाट सुरु हुन्छ असमानता र विभेद । यो असमानता हटाउन कानुनी डण्डा होइन सामाजिक संहिता चलाउनुपर्दछ । हाम्रो आफ्नै मौलिकता छ, विशेषता छ र संस्कार–संस्कृति छ । केवल त्यसलाई कर्मकाण्डी रुपमा स्वीकार्ने मात्र होइन कि व्यवहारमै उतार्ने वातावरण बन्नुपर्दछ । समानताका आयातित नारा घन्काएर मात्र हुँदैन । पश्चिमा मुलुकको समानता वा स्वतन्त्रता नेपाली समाजलाई आवश्यक छैन । घरघरबाट व्यवहारमा छोरा र छोरीबीचको विभेद अन्त्य गराउने अभियान चलाउनुपर्दछ र यसका लागि आवश्यक छ छोरीलाई शिक्षा ।

समान र समानुपातिक प्रतिनिधित्व नेपालको संविधानले नै गरेको छ । त्यस्तो समानता हरेक क्षेत्रमा हुनुपर्छ तापनि संवैधानिक त्यो व्यवस्था राज्य तहदेखि नै पालना भने भएको छैन । सरकार, राजनीतिक दल र अन्य अग्रभागमा रहेका निकाय तथा समाजका गन्यमान्यहरु नै समानुपातिक, समावेशी र विभेदरहित प्रतिनिधित्वको पालना गर्दैनन् भने आम सर्वसाधारणबाट त्यस्तो अपेक्षा गर्नु बेकार हो । त्यसैले घरघरमा असमानता छ र यसमा सबभन्दा बलियोसंग जरा गाडेको क्षेत्र हो शिक्षा ।

शिक्षामा छोरा र छोरीबीच चरम विभेद छ । त्यस्तो विभेद पढेलेखेका, केही जान्ने–सुन्ने अनि शहरी सभ्यतामा रम्नेहरुबाटै पनि बढी भएको पाइन्छ । हरेक वर्ष हुने एसइई परीक्षामा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा छात्रको संख्या बढी देखिनुबाटै स्पष्ट हुन्छ, छोरीलाई शिक्षा केवल औपचारिकतामा सीमित छ । सामुदायिक विद्यालयमा छात्रा र निजी विद्यालयमा छात्रको सख्या बढी देखिनुले शिक्षामा छोरा र छोरीको विभेद कायमै रहेको स्पष्ट देखाउँछ । हुन त सामुदायिक विद्यालयमा पढाउन नहुने भन्ने होइन । तर, जस्तोसुकै अभावको अवस्थामाा पनि छोरालाई बोर्डिङमा र छोरीलाई सामुदायिकमा पठाउनु पक्कै विभेद नै हो ।

अहिलेसम्मको अभ्यासमा सामुदायक विद्यालयहरु झाराटार्ने र निजी विद्यालयहरु गुणस्तरीय शिक्षा दिने भन्ने प्रचार छ । त्यसैले नेपालमा प्रचलित शिक्षा पद्धति वर्गीय मात्र हैन लैंगिक हिसावबाट पनि विभेद कायम छ । यो विभेद घरबाटै भएको छ । गाउँदेखि शहरसम्मै छोरालाई बोर्डिङ र छोरीलाई सामुदायिक विद्यालय पठाउने प्रचलन कायमै छ । अपवादका रुपमा राजधानी जस्ता ठूला शहरमा भने यो प्रथा कम छ ।

हामीमा अझै पनि ठूलो भ्रम के छ भने बोर्डिङ पढेको छोराले भविष्यमा आफूहरुलाई हेर्छ । बोर्डिङ पढे पनि छोरीले त अर्काको घर स्याहार्ने हो । त्यसैले उसले अक्षर मात्र चिने पुग्छ ? यही मान्यताको शिकार नेपाली समाज भैरहेको छ । समानताका नारा घन्काएर असमान व्यवहार प्रदर्शन भैरहेको छ । यस्तो व्यवहार दूरदराजदेखि आधुनिकताले भरिपूर्ण भनिएका शहरहरुमा समेत कायम रहेको देखिनु नेपालको सामाजिक वनावट कसरी भास्सिदै गएको छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ ।

छोरीलाई स्तरीय शिक्षा दिनुपर्छ । उसले आफूलाई उच्च शिक्षित बनाए आफू र आफ्नो घर मात्र होइन, माइती समेतको प्रतिष्ठा बढ्छ भन्ने बुझ्नुको साटो ‘अर्काकी घर जाने’ हो भनेर जन्म दिने बाबुआमाबाटै महत्वहीन ठानिन्छ । विद्यालय पठाएको भन्ने देखाउन झारा टार्ने शैलीमा सरकारी विद्यालय जहाँ अधिकांश कुरा निःशुल्क हुन्छ त्यहाँ पठाउने र छोरालाई टाइ–सुट लगाउने विद्यालय पठाउने प्रवृत्ति निकै घातक हो । यसले सामाजिक विभेद र असमानतालाई मात्र बढावा दिइरहेको छ ।

नेपालको समग्र विकासमा यो एउटा ठूलो अबरोध हो । हरेकले बुझ्नुपर्ने कुरा के हो भने छोरीलाई दिएको शिक्षाले सिंगो घर परिवार शिक्षित हुन्छ, संस्कारी हुन्छ । एउटा शिक्षित आमा भएको घर र अशिक्षित आमा भएको घरका छोराछोरीका आनीबानीले पनि यो कुरा देखाउँछ । तर, अझै पनि छोराप्रतिको अन्धमोहबाट समाज मुक्त हुन सकेको छैन । एउटी छोरीलाई शिक्षित बनाउनु र छोरालाई शिक्षित बनाउनुको अन्तर समाजले केलाउनै सकेको छैन ।

अहिले पनि गाउँघरदेखि शहरसम्मै छोरीलाई पढाईसंगै घरका सारा काम गर्नुपर्ने बाध्यता छ । उनीहरुको एउटै मान्यता छ “छोरी अर्काको घर जाने जात हो, पढाई भन्दा घरधन्दामा बढी दक्ष हुनुपर्छ” । हो घरधन्दा पनि गर्नुपर्छ र पढाई पनि गर्नुपर्छ तर यो काम छोरीले मात्र हैन कि छोराले पनि गर्नुपर्छ भन्ने हेक्का वा चेतना बाबुआमामा पटक्कै छैन । “छोरो त यत्रो सम्पत्तिको मालिक हो, किन दुःख गर्नुप¥यो र !” भन्ने मानसिकताले नराम्रोसंग जरा गाढेको छ । यो जरा समुल नष्ट नगर्दासम्म समानता र नारी अधिकार स्थापित हुँदैन ।

आश्चर्यको कुरा त के छ भने विभिन्न पर्व तथा उत्सवहरुमा छोरीको पूजा गरिन्छ, उनीहरुको खुट्टा पनि ढोगिन्छ तर, त्यही छोरीलाई छोरा समान अवसर दिइदैन । आफ्नो छोराका लागि पढेलेखेको बुहारी खोज्नेले आफ्नी छोरी पनि पढेलेखेर, योग्य बन्नुपर्छ भन्ने नै ठानिंदैन । समाजमा स्थापित यस्ता कुरितीहरुलाई नष्ट नगर्दासम्म नारी दिवसका औपचारिकताहरु जति मनाए पनि समस्या जस्ताको तस्तै रहन्छ ।

वर्षमा एकदिन दिवस मनाएर नारी अधिकार र नारीका योगदान, उनीहरुको गुणको जति चर्चा गरे पनि व्यवहारमा त्यसको पालना नहुँदा विभेदको जरा उखेलिन सकेको छैन । समानता र अधिकारका लागि पैतृक सम्पत्तिमाथिको अधिकार पनि निकै उठ्ने गरेका छन् । तर, सम्पत्तिले मात्रै अधिकार र समानता स्थापित हुँदैन । बाबुआमाले दिएको सम्पत्ति परिचालन गर्ने, त्यसको संरक्षण गरी आफ्ना आर्थिक विकास गर्नसक्ने क्षमताको विकास विकास हुनुपर्दछ ।

समान समाज निर्माणका लागि छोरीलाई शिक्षित बनाएर उनीहरुलाई समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु नै एकमात्र उपाय हो । यो दिशातिर हरेक बाबुआमाले सोच्नुपर्छ र राज्यले पनि सोही अनुसारको नीति, योजना, कार्यक्रम तय गर्नुपर्दछ । दाताहरुको निर्देशनमा बन्ने गरेका नीतिलाई छाडेर नेपाली माटो सुहाउँदो, परम्परादेखि चलिआएको सम्मानित प्रथालाई केवल संस्कारका रुपमा मात्र नहेरी यथार्थमै व्यवहारिक बनाउन जोड दिनुपर्दछ । यसका लागि बाबुआमामा प्रचूर चेतना जागृत हुनुपर्दछ ।

बाबुआमाले छोरा र छोरीलाई समान शिक्षा र अवसर दिनुपर्छ उनीहरुमा भेदभाव गरिनुहुन्न भन्ने सोच राखेर व्यवहार गर्ने हो नेपालको विद्यमान सामाजिक अवस्थामा व्यापक फेरबदल आउनेछ, नारीहरुको जीवनस्तरमा व्यापक परिवर्तन हुनेछ र हरेक घरमा हरेक दिन उत्सव नै उत्सव हुनेछ ।

यथार्थमा भन्ने हो भने नेपाली समाजमा नारीलाई पुरुषभन्दा अग्रभागमा राखिएको छ । नारीमाथि विभेद गर्ने भनिएका पुरुष पनि नतमस्तक भएर विद्या, धन र शक्तिका लागि नारी शक्तिको पूजा–आराधना गर्दछ । नेपाली समाजमा स्थापित यो मान्यता अझै पनि कायम छ । समानता र अधिकारका लागि विश्वलाई निर्देशन गर्ने संस्कृति भए पनि नेपाली समाजमा अहिले विभेद छ । कानुनी दस्तावेजहरुले स्थापित गरेका अधिकारहरु कार्यान्वयन हुन सकेका छैनन् । धार्मिक–सांस्कृतिक मान्यतालाई दह्रोसंग पुनःस्थापित गराउन सकिएको छैन । अहिलेको विडम्बना नै यही हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.