जन सरोकार

विद्यालय भवन र पुस्तकालयका लागि एक किलोमिटर एक रुपैयाँ साइकल अभियान

नेपालको दुर्गम र ग्रामीण क्षेत्रहरुमा शिक्षा र स्वास्थ्यका लागि काम गरिरहेको हेल्प नेपाल नेटवर्कले दोलखामा निर्माणाधीन विद्यालय भवन र डडेल्धुराको पुस्तकालयका लागि रकम संकलन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक साइकल यात्रा गर्ने भएको छ ।

दोलखको राजकुलेश्वर विद्यालय भवन र डडेल्धुराको एक पुस्तकालय भवन निर्माणका लागि रकम संकलन गर्ने उद्देश्यले हेल्प नेपाल नेटवर्कको व्यवस्थापनमा साइकलयात्री देवेन्द्र बस्न्यातले दोलखादेखि दिपायलसम्म करीब १२ सय किलोमिटर एकल साइकल यात्रा अभियान गर्न लागेको मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा नेटवर्ककी सचिव तथा स्वास्थ्य संयोजक लता घिमिरेले संस्थाले मूलतः शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको र विपदका बेला अल्पकालीन सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले यो अभियानबाट संकलन हुने रकम दोलखामा निर्माणाधीन राजकुलेश्वर विद्यालय भवन र भक्त बीबी फर ह्युमेनिटीको संयोजनमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक स्मृति पुस्तकालयका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो ।

साइकलयात्री देवेन्द्र बस्न्यातले विभिन्न एक दशकभन्दा लामो साइकल यात्राका क्रममा विभिन्न अभियानहरु संचालन गरेको भए पनि शिक्षाका लागि साइकलयात्रा गरी आर्थिक सहायता संकलन गर्ने कार्य नेपालमा पहिलो भएको बताउँदै आफूले यसलाई एउटा सुनौलो अवसरका रुपमा लिएको बताउनुभयो । उहाँले यस्ता अभियानहरु विदेशमा धेरै हुने गरे पनि नेपालमा भने पहिलोपटक हुन लागेको र आफू त्यसको साझेदार बन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा बस्न्यातले अभियान एक किलोमिटर एक रुपैयाँको रहेको जानकारी दिंदै सहयोग गर्न चाहने व्यक्ति, समूह तथा संस्थाले मोबाइल एप खल्तीको बजार ट्याबमा गएर पेडल फर एजुकेशन क्लिक गरेर रकम दिन सकिने जानकारी दिनुभयो ।

त्यसै गरी हेल्प नेपाल नेटवर्कको नाममा रहेको सानीमा बैंकको खाता नम्बर ००१०१००१००००७९१ मा जम्मा गर्नसकिने जानकारी दिनुभयो । उहाँले यो अभियानका क्रममा आफूले कुनै रकम नलिएको र साइकलको मर्मत लगायतका खर्च स्वयंले व्यहोर्ने पनि जानकारी दिनुभयो ।

सन् २००८ देखि निरन्तर साइकल अभियान चलाइरहनुभएका बस्न्यात विश्व साइकलयात्री पुश्कर साहसंग मिलेर विभिन्न प्रतियोगिता, पर्यटन प्रबद्र्धन लगायतका काम गर्दै आउनुभएको छ ।

फागुन २८ गते काठमाडौंबाट संस्कृतिविद् शताब्दिपुरुष सत्यमोहन जोशी तथा संस्थाका सल्लाहकार एर्व अर्थमन्त्री तथा साहित्यकार शंकर कोइराला, विजय राजभण्डारीले बस्न्यातलाई विदाई गर्नुहुनेछ । दोलखाबाट काठमाडौं आइपुगेपछि काठमाडौंको नक्साल नारायणचौरमा अर्को शुभयात्रा विदाई समारोहको आयोजना गरी चैत्र १३ गते अभियान समापन हुनेछ ।

दुई दशकअघि ’एक महिना एक डलर’ सहयोग अभियानबाट सुरु भएको नेटवर्कले अहिलेसम्म ५० भन्दा बढी विद्यालय भवन बनाइसकेको छ भने त्यतिकै संख्यामा पुस्तकालय तथा पछिल्ला दिनमा इ–लाइब्रेरीहरु पनि संचालनमा ल्याएको अध्यक्ष अरुणसिं बस्न्यातले जानकारी दिनुभयो ।

हेल्प नेपाल नेटवर्कले नै निर्माण गरेको राजकुलेश्वर विद्यालय भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माण भैरहेको र हालसम्म ३ करोड ७० लाख रुपैयाँ खर्च भएको, अनुमानित लागत ६ करोड रुपियाँ रहेको पनि अध्यक्ष बस्न्यातले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.