राजनीति

गठबन्धन आवश्यकताका आधारमा : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन हुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हिजो संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेका हौँ, आगामी निर्वाचनसम्म यसलाई लैजान्छौँ ।”

नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै उहाँले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजाने बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले संविधानको रक्षाका लागि विगतमा गठबन्धन गरिएको उल्लेख गर्दै जुन ठाउँमा कांग्रेस कमजोर छ, त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई नै फाइदा पुग्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई एकजुट बनाएर लैजानुपर्ने बताउँदै कांग्रेस एकजुट भए मात्रै आगामी निर्वाचन जित्न सकिन्छ भन्नुभयो । कांग्रेसलाई जिताउन युवाको महत्वपूर्ण भूमिका हुने भएकाले युवाहरु एक हुनुपर्ने उहाँले बताउनुभयो ।

“नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन युवाहरु एकजुट भएर लाग्नुपर्छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “युवा भनेका कांग्रेसको मेरुदण्ड हो, युवाहरु कांग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button