राजनीति

सत्य सुन्ने र देख्ने हिम्मत नभएपछि… (भिडियोसहित)

मुलुकको राजनीतिक, सामाजिक रुपान्तरणमा १० वर्षे माओवादी जनयुद्धको भूमिका अहं रह्यो । राजनीतिक आग्रह वा पूर्वाग्रहविना भन्ने हो भने अहिलेको परिवर्तनको पहिलो हकदार माओवादी नै हो । अनि जनयुद्धले दिलाएको आश र त्यसपछिको निराशाको हकदार पनि माओवादी नै हो ।

तर, जनयुद्धको लक्ष्य, उद्देश्य बिचैमा छाडेर शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरु (जनयद्धका नेतृत्वकर्ता) भ्रमित भए, लक्ष्य, उद्देश्य र दर्शन सबै बिर्सिएकै हुन् । होइन भने आज माओवादी छिन्नभिन्न भएर कहिले एमालेको साथ त कहिले कांग्रेसको साथ खोजेर चुनाव लड्नुपर्ने थिएन ।

नेताहरु सत्ता र शक्तिको रसस्वानदमा रमिरहँदा जनयुद्ध लडेका योद्धाहरुको जीवन भने नारकीय रहकोमा विमती छैन । आज पनि जनयुद्धका लडाकुहरु जीवन निर्वाहकै लागि अनेक हण्डर खाइरहेका छन् ।

राजनीतिक चेतना र समाज सुधारका अभियन्ता बनेका लडाकुहरुले जेजस्तो सम्मान पाउनुपथ्र्यो त्यसको साटो उनीहरुले वेवास्ता मात्रै पाए । मुलुकमा राजनीतिक परिवर्तन भएपछि नेताहरुको जीवनशैलीमा परिवर्तन आयो, देश र जनताको अवस्था जस्ताको तस्तै ।

यही यथार्थलाई लिएर गायक प्रकाश सपुतले लामो गीति भिडियो बनाए । जनयुद्धका योद्धाको कथामा आधारित यो गीत अहिले ट्रेडिङमा छ । तर, माओवादी कार्यकर्ताहरु गीतले जनयुद्धको बदनाम गरेको भन्दै गीत प्रतिबन्ध लगाउन माग गरिरहेका छन् ।

“पीर”मा देखाइएका दृश्यहरुले हेर्ने सबैको आँसु खस्छ । माओवादी जनयुद्धको समर्थन गरिएको र जनयुद्ध बिसर्जनपछिको अवस्थाको सफेद चित्र शब्द र दृश्यमा उतारिएको यो गीति भिडियोमा माओवादीको आपत्ति भनेको केही सेकेण्डको एउटा दृश्यमा रहेको छ भनिन्छ । तर यथार्थमा सिंगो गीतमाथि उनीहरु (जो सत्ता–शक्तिको निकट छन्)हरुको आपत्ति हो ।

तर, गीत हेरिसकेको जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डले नै प्रचार गरिए जस्तो गीतमा आपत्तिजनक सन्दर्भ नभएको भन्दै शान्त रहन सन्देश दिए पनि माओवादीका भातृ संगठनहरु भने बिरोधमा उत्रिरहेका छन् ।

त्यसो त सत्ता निकट रहेकाहरु गीतको बिरोधमा छन् भने वहिर्गमनमा परकाहरु गीतले जनयुद्ध र त्यसपछिको अवस्थाको यथार्थ चित्रण गरेको बताइरहेका छन् ।

गीति भिडियो यति मार्मिक छ कि देशको नाममा व्यक्ति मोटाउने प्रवृत्तिमाथि कठोर प्रहार गरिएको छ । गीतको सन्दर्भ जनयुद्धलाई लिइएको भए पनि देशको अहिलेको अवस्थाको दोषभागी सबै दल र नेताहरु हुन् ।

देशका लागि ज्यानका बाजी लगाएर बन्दुक बोकेका योद्धाले आफ्ना नाबालिक छोरीले “बाबा देश भनेको के हो ?” भन्ने प्रश्नको उत्तर दिन सक्दैनन्, यही हो सच्चा देशभक्तहरुको अहिलेको अवस्था र गीतले बोकेको भाव ।

हेर्नुहोस् सो गीति भिडियो र आफैं मूल्यांकन गर्नुस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.