रमेश विकल साहित्य प्रतिष्ठानमा चार पुस्ताका कथामाथि विमर्श
रमेश विकल साहित्य प्रतिष्ठान आरुबारीको सहकार्यमा कथा यात्रा समूहले “आख्यान मञ्जिरा” शीर्षकमा वरिष्ठ कथाकार रमेश विकल सहित उहाँका चार पुस्ताहरूको कथामाथि विमर्श कार्यक्रम सञ्चालन गरेको छ ।
फागुन ३० गते शनिबा रमेश विकल साहित्य प्रतिष्ठानका पदाधिकारीहरु र केही स्थानिय कथाकारहरुको बीचमा सञ्चालन भएको उक्त कार्यक्रममा कथा यात्रा समूहका सदस्यहरूले विभिन्न विषयमा समीक्षात्मक प्रस्तुती राख्नुभएको थियो ।
रमेश विकलका कथाकारितामाथि “नयाँ सडकको गीतमा गुञ्जिएको मानवतावादी चिन्तन” शीर्षकमा पवित्रा अधिकारीले एवम् “भ्वाइलेन र भाउजू” शीर्षकमा विश्व कुइकेलले प्रस्तुति राख्नुभयो ।
यस्तै रमेश विकलका छोरा एवम् गोरखापत्र संस्थानका पूर्व अध्यक्ष कथाकार विजय चालिसेमाथि प्रमोद प्याकुरेलले र अर्का छोरा महेन्द्र चालिसेमाथि “अमूर्तताको अस्तित्वमा महेन्द्र चालिसे” शीर्षकमा दीपक लोहनीले प्रस्तुती राख्नुभयो ।
यस्तै नातिपुस्ते कथाकार आलोक चालिसेमाथि हरिश कल्पित एवम् विकलकी पनातिनी आयुषा चालिसेको कथाकारितामाथि डा. हिमलाल श्रेष्ठ र कुमार काफ्लेले प्रस्तुति राख्नुभएको थियो ।
कथा साहित्यमाथिको सिर्जनात्मक कदमको रूपमा यस विमर्श कार्यक्रममा कथा सिद्धान्त र विकलको साहित्यिक विरासतको मात्र चर्चा नगरी पुस्तान्तरणसँगै कथ्य सोच्ने शैलीमा आएको परिवर्तनका विषयमा समेत चर्चा भएको थियो ।
सोही कार्यक्रममा सातजना कथाकारहरूले तयार गरेको समीक्षात्मक पुस्तिका हस्तान्तरण गरिएको थियो भने सोको क्रममा कथा यात्रा समूह र प्रतिष्ठानका वीच आख्यान मञ्जिरा कार्यक्रमलाई निरन्तरता दिने सहमति समेत भएको प्रतिष्ठानका सचिव आलोक चालिसेले बताएका छन्।





प्रतिक्रिया राख्नुहोस्