पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न
पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ को आयोजनामा वडा कार्यालय परिसरमा आइतबार दोस्रो साहित्य पर्व– २०८३ सम्पन्न गरिएको छ ।
गीत सङ्गीत र साहित्यका विविध पक्षमा चर्चा गरिएको पर्वमा विभिन्न सत्रहरूमा छलफल गरिएको थियो । पर्वको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटाः पोखराका युगपुरुषहरूको पदचापमा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग छलफल गर्नुुभएको थियो ।
यस सत्रमा लोककवि अलिमियाँ, स्वर्गीय जगन्नाथ सिग्देल, स्वर्गीय टेकबहादुर ढेवाजुको योगदानको चर्चा गर्दै आगामी दिनमा युवाले दिनसक्ने योगदानका बारेमा छलफल गरिएको थियो ।
दोस्रो सत्रमा ‘अक्षरदेखि अल्गोरिदमसम्मः हाम्रो अबको शिक्षा र बदलिँदो समाजको स्वरुप’ विषयमा भौतिकशास्त्री डा कपिल अधिकारीसँग डा रामचन्द्र बरालले छलफल गर्नुभएको थियो । छलफलमा डा अधिकारीले सामाजिक सञ्जालको अल्गोरिदमले मानिसको आनीबानीलाई जिन्सी सामानजस्तो बनाइदिएको बताउनुभयो ।
तेस्रो सत्रमा पत्रकार अनिशा श्रेष्ठले व्यावसायी नारायण पौडेल र समेसराज भण्डारीसँग उद्यमी र नवउद्यमीका विषयमा कुराकानी गर्नुुभएको थियो भने चौथो सत्रमा ‘साहित्यमा नारीको प्रतिनिधित्व’ शीर्षकमा सहजकर्ता हसिना बस्नेतसँग साहित्यकार सरस्वती प्रतीक्षाले छलफल गर्नुभएको थियो । त्यस्तै अन्तिम सत्रमा पत्रकार अमृत सुवेदी र गायक विनोद श्रेष्ठले कन्दरा ब्यान्ड र पोखराको सङ्गीतका विषयमा कुरा गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय साहित्यकार, कलाकार तथा चित्रकारहरूको सहभागिता थियो । कार्यक्रममा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’, धर्मराज अल्पायु, चन्द्रावती वाग्ले, कुशल गौतमका रचना वाचन गरिएका थिए । गायिका हरिदेवी कोइरालाले अलिमियाँले सङ्कलन गरेको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीत प्रस्तुत गर्नुुभएको थियो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै लेखक तथा पत्रकार नारायण वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकालय रहेको बताउनुभयो । साहित्यमा सृजना गर्न स्वतन्त्र रूपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अग्रज कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ले यस प्रकारका कार्यक्रमले साहित्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता अभिवृद्धि गर्ने र स्थानीय प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्