एन आर एन न्युज

दुई समूहको टकरावले विभाजनको सङ्घारमा एनआरएनए

अध्यक्ष पन्त र उपाध्यक्ष लामा समूहबाट अलगअलग महाधिवेशनको तयारीमा

नेपालको विकासमा सघाउने र आमप्रवासी नेपालीहरूको हकहित, अधिकार र नयाँ पुस्तालाई नेपालसँग जोडिराख्ने भावनाले २० वर्षअघि स्थापना गरिएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्ततः विभाजनको सङ्घारमा पुगेको छ ।

विश्वका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको साझा संस्थाका रुपमा रहेको एनआरएनएमा दुई पक्षबीचको टकरावका कारण फुटको सङ्घारमा पुगेको हो ।

एनआरएनएका वर्तमान अध्यक्ष कुमार पन्त पक्षधर समूह र उपाध्यक्ष सोनाम लामा पक्षधर समूहले अलगअलग रुपमा महाधिवेशनको मिति तय गरी निर्वाचनको प्रक्रियासमेत थालनी गरिसकेका कारण संस्था अब एक ढिक्का हुनसक्ने सम्भावना कम रहेको देखिएको छ ।

यद्यपि सङ्घका केही पदाधिकारी र संरक्षकहरुले सहमतिका लागि प्रयास गरिरहनुभएको पनि बुझिएको छ । यसअघि एनआरएनएको १०औँ महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतका विषयमा उत्पन्न विवाद आन्तरिक रुपमै समाधान हुन नसक्दा परराष्ट्र मन्त्रालय र अदालतसम्म पुगेको छ ।

सङ्घको महाधिवेशन तथा विश्व सम्मेलनको तयारीका लागि सङ्घका अध्यक्ष पन्त समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचनका अधिकांश प्रक्रिया सम्पन्न गरिरहेको जनाएको छ । सो समूहले यही चैत १० र ११ गते मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको सङ्घका प्रवक्ता डिबी क्षेत्रीले बताउनुभयो ।

यस्तै महाधिवेशन आयोजक समितिका संयोजक तथा सङ्घका उपाध्यक्ष लामा समूहले यही चैत ८ देखि ११ गतेसम्मका लागि एनआरएनएको १०औँ महाधिवेशनको मिति तय गरेको जनाएको छ ।

महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले बताउनुभयो । उहाँका अनुसार महाधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समिति पनि गठन गरिएको तथा महाधिवेशनका लागि प्रतिनिधि नेपाल आउने क्रम जारी रहेको छ ।

सङ्घको विधानअनुसार गत अक्टोबर २३–२५ तारिखमा अधिवेशनको तयारी गरिए पनि प्रतिनिधि छनोटको प्रक्रियागत विवादका कारण अधिवेशन स्थगित भएको थियो । त्यसपछि गत डिसेम्बर १५ मा पुनः अर्को निर्वाचनको मिति तय गरिएको थियो ।

सङ्घको कार्यसमितिले विवाद सुल्झाउनुको सट्टा गत मार्च २ मा आकस्मिक बैठक बसी उच्चस्तरीय समिति र संरक्षक परिषद् खारेज गर्ने निर्णय गरेपछि विवाद झनै चुलिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.