अनुमतिबिना युनिफर्मसहित भारतीय प्रहरी दैलेख बजारमा
दैलेखका एक युवाको बारेमा जानकारी लिन भन्दै भारतको हरियाका प्रदेश यमुनानगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजना टोली प्रशासनलाई जानकारी नै नदिई पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखलाई जानकारी नदिएर भारतीय प्रहरीको टोली सोमबार साँझ दैलेखमा आएको र मङ्गलबार पोसाक लगाएर बजारमा हिँडेको देखेपछि भारतीय प्रहरी दैलेखमा पुगेको थाहा भएको हो ।
स्थानीय देवकोटाचोक प्रहरीको अगाडि पोसाकसहित भारतीय प्रहरी देखेपछि स्थानीयले विरोध गरेपछि जिल्ला प्रहरीले उनीहरूलाई सोधपुछका लागि कार्यालयमा लगेपछि भारतीय प्रहरीले स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई दैलेख आएको पाइएको हो ।
उनीहरूले मंगलबार विहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरू दैलेख आएको जानकारी गराएका थिए । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीनजना प्रहरीसहित चारजनाको टोली दैलेख आएको हो ।
भारतमा काम गर्दै आएका दैलेखका एक युवकले काम गर्ने घरमा विष सेवन गराएर २५ लाख रुपिँया लुटेर फरार भएको निवेदन प्रहरीमा परेपछि त्यसको अनुसन्धानका लागि आफूहरू आएको दैलेख प्रहरीलाई जानकारी गराएका छन् । उनीहरुको युवाको वास्तविक ठेगाना खोज्न दैलेखमा आएको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख निरीक्षक नैनबहादुर सावदले जानकारी दिनुभयो ।