दुबई पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने शिवकुमार पक्राउ
वैदेशिक रोजगारको सिलसिलामा दुबई पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं रानीवन बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका ४ खुङगा घर भएका ३८ वर्षीय सुनिल भन्ने शिव कुमार घर्ती मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपालिका २६ गोगंबुचोकबाट पक्राउ गरेको हो ।
मगरले दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ९ जना व्यक्तिहरुसँग नगद १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको खुल्न आएको छ ।
मगरलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।
यसै गरी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ थाक्रे गाउँपालिका ६ रानीबारी बस्ने ५८ वर्षीय कान्छा थापा भन्ने रण बहादुर थापालाई सोही ठाउँबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
अंश सम्बन्धी विवादको कारण थापाले आफ्नै सौतेनी आमा साईली थापालाई २०५८ माघ १४ गते आफ्नै घरभित्र घाँटी थिचेर हत्या गरी घटना पश्चात फरार रहेका थिए ।
फरार थापा लामो समयसम्म काठमाडौं टेकुमा लुकीछिपी बसी पछिल्लो समयमा आफ्नै घरमा गएर बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
थापालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्