जन सरोकार

कोरोना संक्रमणको आशंकामा तीनजना अस्पताल भर्ना, गड्डाचौकी नाकाबाट छ घण्टामा १३ हजार जना भित्रिए

धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई भर्ना गरिएको छ । भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताउनुभएको छ ।

तीनैजनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको र उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा जोशीले जानकारी दिनुभयो ।

यसै गरी भारतमा कोरोना संक्रमण बढ्न थालेपछि छ घण्टाको बीचमा १३ हजार नेपाली स्वदेश फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिबारदेखि गड्डाचौकी बाहेकका अन्य साना नाकाहरू बन्द गरेको जनाएको छ । गड्डाचौकीबाट पनि भारत नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनुभयो ।

भारतबाट आएका सबैको नाम र ठेगाना संकलनको काम भइरहेको प्रजिअले बताउनुभयो । भारतमा उद्योग, कलकारखाना सबै बन्द भएका कारण बेरोजगारी र कोरोनाको त्रासका कारण नेपालीहरु घर फर्किन थालेका हुन् ।

https://www.facebook.com/lokaantar/videos/206585163743572/

सम्बन्धित खबर

Back to top button