जन सरोकार

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ ।

आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिकमा सेवा सेवा बन्द भई मङ्सिर १ गतेदेखि भाडाको कार्यालयबाट सेवा सञ्चालन भएको थियो ।

गत मङ्सिरदेखि चैत ८ गतेसम्म जलेर नष्ट भएका १३ हजार ४०९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको कार्यालयका प्रमुख मालपोत अधिकृत सबिनसिंह चौधरीले जानकारी दिनुभयो ।

“जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ, हाम्रोतर्फबाट सकेसम्म सहज रूपमा सेवा प्रवाह गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “एकैपटक धेरै सेवाग्राही आउँदा भीडभाड भए पनि सेवा प्रवाहमा कुनै समस्या नहुनेगरी काम गरिरहेका छौँ ।”

विसं २०७४ पछिका स्रेस्ताहरु ‘डिजिटलाइज्ट’ भएकाले स्रेस्ता कायममा समस्या नभए पनि त्योभन्दा अगाडिका जग्गाधनी प्रमाणपुर्जाको रोक्का यकिन नहुँदा स्रेस्ता कायम गर्दा पत्रिकामा सूचना प्रकाशन गर्नुपर्नेलगायतका प्रक्रियागत कार्यले लामो समय लाग्ने गरेको चौधरीले जानकारी दिनुभयो ।

सेवाग्राहीको सहजताका लागि गत हप्ता मात्रै सेवाग्राही सहायता कक्ष स्थापना गरेर आवश्यक सहयोग र समन्वयको कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

लेखापढी व्यवसायीमार्फत सेवा लिँदा आर्थिक रुपमा बोझ हुनेहुँदा नागरिक सहायता कक्षमार्फत सेवा लिन आग्रह गर्दै कार्यालय प्रमुख चौधरीले मालपोत विभागको ‘अनलाइन’ प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.