विश्व समाचार

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित, आइसोलेसनमा बसेर सरकार चलाउने

विश्वभर महामारी फैलाइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि ग्रस्त भएको त्यहाँको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ । बिरामी भए पनि उहाँले नै सरकारको नेतृत्व गरेर यो विपत्‌को सामना गर्ने विज्ञप्तिमा बताइएको छ ।

प्रधानमन्त्रीको सम्पर्कमा आएका कति मन्त्री एवम् अधिकारीहरू अब एक्लिएर बस्नुपर्ने हो भन्नेबारे अझै स्पष्ट भइसकेको छैन । सरकारका मुख्य वैज्ञानिक र यो महामारीसँग जुझ्ने सरकारका विभिन्न प्रयासमा नेतृत्वदायी भूमिकामा खटिएका मानिसहरूसँग जोनसन सम्पर्कमा रहनुभएको थियो ।

बिहीवार जोनसन यो महामारीसँग जुझ्न खटिएका मानिसहरूप्रति सम्मान दर्शाउन सार्वजनिक रूपमा उपस्थित हुनुका साथै गत साताको बिहीवारसम्म जोनसन पत्रकार सम्मेलनमा प्रत्यक्ष उपस्थित भैरहनुभएको थियो । त्यसबेला उहाँ यस प्रयासमा खटिएका अन्य मानिसहरूबाट दुई मिटरभन्दा कमको दूरीमा रहनुभएको थियो ।

जोनसनले आफूलाई कोरोना भाइरसका मध्यम खालका लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताउनुभएको छ । बेलायतका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस ह्विटीको सल्लाहमा उहाँको कोरोनाभाइरस परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै एकसाथ भाइरसलाई परास्त गर्ने बताउनुभएको छ । उहाँको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए ।

दुई दिनअघि ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोनाभाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले जनाएको थियो ।

बेलायतभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.