अमेरिकी भुक्तानी प्रणालीलाई चुनौती दिँदै इयुको ‘डिजिटल युरो’ अभियान
युरोपेली सङ्घ (इयु)ले अमेरिकी भुक्तानी प्रणालीमाथिको निर्भरता घटाउँदै आफ्नै डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित ‘डिजिटल युरो’ परियोजनालाई तीव्रता दिएको छ।
भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पेजस्ता अमेरिकी सेवाको विकल्पका रूपमा डिजिटल युरोलाई अघि सार्दै इयुले आफ्नो आर्थिक सार्वभौमिकता सुदृढ बनाउने रणनीति अपनाएको हो।
यसै सन्दर्भमा युरोपेली सांसदहरूले मङ्गलबार डिजिटल युरोसम्बन्धी बहुप्रतीक्षित प्रस्तावमाथि मतदान गर्ने तयारी गरेका छन्। युरोपसँग साझा डिजिटल भुक्तानी प्रणालीको अभाव रहेको निष्कर्षपछि युरोपेली केन्द्रीय बैंक (इसिबी)ले सन् २०२० मै डिजिटल युरोको अवधारणा सार्वजनिक गरेको थियो।
डिजिटल युरो कार्यान्वयनका लागि युरोपेली संसद् तथा सदस्य राष्ट्रहरूको स्वीकृति आवश्यक पर्नेछ। यदि यस वर्षको अन्त्यसम्म आवश्यक कानुनी प्रक्रिया पूरा भएमा इसिबीले सन् २०२७ को मध्यतिर परीक्षण कार्यक्रम सञ्चालन गर्ने र सन् २०२९ सम्म सर्वसाधारणका लागि डिजिटल युरो उपलब्ध गराउने लक्ष्य राखेको छ।
डिजिटल युरो बैंक खातामा रहेको साधारण निक्षेपभन्दा फरक हुनेछ। प्रयोगकर्ताले बैंक वा हुलाक कार्यालयजस्ता संस्थामार्फत विशेष डिजिटल वालेट खोल्नुपर्नेछ, जहाँ रकम जम्मा गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ। कार्ड, मोबाइल एप, फोन वा अनलाइन प्रणालीमार्फत पसल तथा व्यक्तिबीच प्रत्यक्ष कारोबार गर्न सकिने व्यवस्था गरिने योजना छ।
इसिबीले डिजिटल युरोमार्फत प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने जनाएको छ। अधिकारीहरूका अनुसार अफलाइन भुक्तानीको सुविधा पनि उपलब्ध हुनेछ, जसले नगद कारोबारसरह गोपनीयता सुनिश्चित गर्नेछ। डिजिटल युरोले नगद वा निजी भुक्तानी प्रणालीलाई प्रतिस्थापन नगरी थप विकल्प उपलब्ध गराउने दाबी गरिएको छ।
इसिबीका डिजिटल युरो निर्देशकका सल्लाहकार एलेसान्ड्रो जियोभान्निनीले बैंक तथा व्यापारीहरूलाई नयाँ प्रणालीमा अभ्यस्त हुन समय लाग्ने बताउनुभएको छ।
उहाँका अनुसार डिजिटल युरोले उपभोक्तालाई झन् डिजिटल बन्दै गएको जीवनशैलीअनुसार भुक्तानीको माध्यम छनोट गर्ने स्वतन्त्रता प्रदान गर्नेछ।
इयुका नीति निर्माताहरूले भुक्तानी प्रणालीलाई आर्थिक शक्तिको महत्वपूर्ण साधनका रूपमा व्याख्या गरेका छन्। सांसद गिल्स बोयरले युरोपले लामो समयदेखि अमेरिकी प्रणालीमाथिको निर्भरता भोग्दै आएको उल्लेख गर्दै अब आफ्नै सार्वभौम भुक्तानी प्रणाली निर्माण गर्ने समय आएको बताउनुभएको छ।
युरोपेली अधिकारीहरूले सन् २०२५ मा अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशमाथि लगाएको प्रतिबन्धलाई पनि उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
त्यसबेला एक फ्रान्सेली न्यायाधीशले आफ्नो भिसा कार्ड प्रयोग गर्न नसकेको घटना युरोपेली भुक्तानी स्वतन्त्रताको बहसमा बारम्बार उद्धृत हुने गरेको छ।
इसिबीका अनुसार युरो क्षेत्रका करिब दुईतिहाइ कार्ड भुक्तानी गैर–युरोपेली कम्पनीहरू, विशेषगरी भिसा र मास्टरकार्डमार्फत सञ्चालन हुने गरेका छन्। साथै, २१ मध्ये १३ युरोजोन देशसँग दैनिक भुक्तानीका लागि आफ्नै राष्ट्रिय कार्ड प्रणालीसमेत छैन।
यद्यपि, डिजिटल युरो योजनाप्रति युरोपेली बैंकहरू भने सशङ्कित छन्। बैंकिङ क्षेत्रले नयाँ प्रणालीमा रूपान्तरण गर्न ठूलो लागत लाग्ने र ग्राहकहरूले आफ्नो निक्षेप डिजिटल युरोमा सारेमा बैंकहरूको वित्तीय स्थिरतामा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ।
युरोपेली बैंकिङ महासङ्घले यस परियोजनाका लागि करिब १८ अर्ब युरो खर्च लाग्न सक्ने अनुमान गरेको छ भने इसिबीले वास्तविक लागत चार अर्बदेखि पाँच अर्ब ८० करोड युरोबीच रहने दाबी गरेको छ। इसिबीका अनुसार डिजिटल युरोको संरचनाले ठूलो मात्रामा निक्षेप बाहिरिने जोखिम नियन्त्रण गर्ने भएकाले बैंकिङ प्रणालीमा गम्भीर असर पर्ने सम्भावना न्यून छ।
यता, युरोपेली बैंकहरू आफ्ना अनलाइन सेवाको माग घट्ने र प्यान–युरोपेली भुक्तानी प्रणाली ‘वेरो’सँग डिजिटल युरोले प्रतिस्पर्धा गर्न सक्ने चिन्तामा समेत रहेका छन्।




प्रतिक्रिया राख्नुहोस्