सहुलियतपूर्ण पुनर्कर्जाको ब्याज २ प्रतिशत बढ्यो
कोरोना भाइरस संक्रमणका कारण संकटमा परेको उद्योग, व्यवसायको उत्थानका लागि दिएको सहुलियतपूर्ण पुनर्कर्जाको ब्याज बढेको छ । ५ प्रतिशतमा रहेको सो ब्याज अब ७ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले कोरोना महामारीका कारण थला परेको उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्रलाई माथि उठाउन पुनर्कर्जाको व्यवस्था गरेको थियो । तर, अहिले कोरोना सङ्क्रमणको असर कम हुँदै गएको भन्दै ब्याजदर २ प्रतिशतले बढाएको छ ।
राष्ट्र बैङ्कले पुनर्कर्जा कार्यविधि २०७८ को चौथो संशोधनमार्फत यसअघि ५ प्रतिशत रहेको यस्तो ब्याजदरलाई ७ प्रतिशत कायम गरेको छ ।
बैङ्कका ग्राहकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा ७ प्रतिशत, विशेष पुनर्कर्जामा ५ प्रतिशत र साधारण पुनर्कर्जाअन्तर्गत ७ प्रतिशत ब्याज लिन पाउने भएका छन् । यता बैङ्कले भने राष्ट्र बैङ्कमार्फत क्रमशः ४ प्रतिशत, २ प्रतिशत र ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउनेछन् ।
ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैङ्कले तोकेका क्षेत्रका ग्राहक ऋणीका लागि, लिक्विड अक्सिजन प्लान्ट तथा अक्सिजन प्लान्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैङ्कले तोकेका ग्राहक ऋणीका लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।
यस्तै निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैङ्कले तोकेका ग्राहक ऋणीका लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।
राष्ट्र बैङ्क ऐन २०५८ ले तोकेको व्यवस्थाअनुसार बैङ्कले यस्तो पुनर्कर्जा नवीकरण गर्न सक्नेछन् । बैङ्कबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुस्ट प्रदान हुने प्रतिग्राहक पुनर्कर्जाको अधिकतम सीमा पाँच करोड रुपियाँको हुने कार्यविधिमा उल्लेख छ । यसरी एकमुस्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।
बैङ्कले ग्राहकअनुसार मूल्याङ्कन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रतिग्राहक अधिकतम सीमा २० करोड रुपियाँसम्म हुनेछ तर स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रतिग्राहक ऋणी ५० करोड रुपियाँसम्म पुनर्कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने कार्यविधिमा उल्लेख छ ।
यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्