एमडिएमएस खरीदमा ९१ करोड भ्रष्टाचार, बीस जनाविरुद्ध मुद्दा दायर
नेपाल दूरसञ्चार प्राधिकरणले प्रयोगमाा ल्याएर असफल भएको मोबाइल म्यानेजमेन्ट सिष्टम (एमडिएमएस)को परामर्श सेवा खरिदमा ९१ करोडभन्दा बढी भ्रष्टाचार गरेको ठहर भएको छ ।
लामो समयको अनुसन्धानछि अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित २० जनाबिरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन अध्यक्ष झा र खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युतानन्द मिश्र, सहायक निर्देशकहरु रेवतीराम पन्थ,सन्दिप अधिकारी, विजयकुमार राय यादव, प्रतिक्षा पौडेल, नीराजन कोइरालाविरुद्ध रु ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ बराबरको बिगो दाबी गरिएको छ ।
उनीहरुविरुद्ध अमेरिकी डलरको विनिमयदर बमोजिम थप रु २३ करोड २० लाख ५९ हजार तीन सय १४ बराबरको बिगो दाबी गर्दै असूल उपर गर्नसमेत आयोगले माग दाबी गरेको छ ।
त्यस्तै न्युमेरा एम एडडीएन बीएचडी मलेसियाका कर्मचारीहरु, नमस्ते ग्लोबल कमन पीटीई सिङ्गापुरका निर्देशक कविन्द्रराज मल्ललगायतका व्यक्तिविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।
मोबाइल म्यानेजमेन्ट सिष्टम खरिदकार्य गर्दा पुष्ट्याइको आधारबिना बदनियत राखेको पाइएको छ । अस्वाभाविक ढङ्गले बढी काम लागत देखाई लागत अनुमान र बोलपत्र स्वीकृत नगराई काम गरेको पाइएको आयोगको दाबी छ ।
आरोपीविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्