राजनीति

आज मन्त्रिपरिषद् विस्तार हुँदै, नयाँ मन्त्रीको शपथ ३ बजे

मन्त्रिपरिषद् विस्तार आज (शुक्रबार) हुने भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तारको मिति आजको लागि सरेको हो ।

यद्यपि बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तार शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शुक्रबार बिहान सत्ता साझेदार दलहरुबीच बैठक बस्ने र दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको एक नेताले जानकारी दिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री दाहालले सत्ता साझेदार दलका नेताहरुसँग छुट्टाछुट्टैसमेत छलफल गर्नुभएको थियो । यसअघि बुधबार बसेको सत्ता साझेदार दलहरुबीचको बैठकमा कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जसपा समान २–२ मन्त्रालय पाउने सहमति भएको थियो ।

त्यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलाई र नेसपालाई समान १-१ मन्त्रालय दिने सहमति भएको थियो । यता सत्ता गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चाले भने कुनै पनि मन्त्रालय पाएको छैन । त्यस्तै सरकारबाट बाहिरिए पनि सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा पनि कुनै मन्त्रालय छैन ।

 

 

 

 

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.