विश्व समाचार

अमेरिकामा कोरोनाबाट छ हप्ताको शिशुको मृत्यु इजरायलका स्वास्थ्यमन्त्री नै संक्रमित

संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताउनु भएको छ । गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिनुभयो ।

बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भन्नुभयो, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।”

स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोविड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताउनुभयो । कोविड–१९ का कारण यति कम उमेरका बच्चाको मृत्यु भएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भन्नुभयो ।

कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टी गर्नु भएको छ ।

कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको मृत्यु भएको छ ।

उता इजरायलका स्वास्थ्य मन्त्री र उहाँकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहनु भएको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गर्नुहुन्थ्यो ।

तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थाल्नु भएको थियो । मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी गराउनु हुन्थ्यो ।

सम्बन्धित खबर

Back to top button