राजनीति

जेठ २, २०७५ लाई आधार मानेर एकतामा फर्कन ओलीलाई नेपाल समूहको आह्वान

सर्वोच्च अदालतले नेकपा एमाले पुनःस्थापित गरिदिएपछि विभाजनको संघारमा पुगेको सत्तारुढ नेकपा एमालेको माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकता (२ जेठ २०७५) लाई आधारमा मानेर एकतामा फर्कन आह्वान गरेको छ ।

दुई दिनसम्म चलेको नेपाल समूहको एमाले केन्द्रीय सदस्यहरुको बैठकले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गर्दै अध्यक्ष ओलीलाई माओवादीसंगको पार्टी एकता अघिको आधार मानेर एकतामा आउन आव्हान समेत गरेको हो ।

शुक्रबार र शनिबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।

अभियानका क्रममा अधिवेशन, महाधिवेशनबाट आएका र २०७५ जेठ २ मा कायम भएका कमिटीहरुको पुनः सञ्चालन तथा आवश्यकता अनुसार गठन पुनर्गठन हुनेछ । यसका लागि केन्द्रीय सदस्य र नेताहरुलाई पार्टी प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा खटाइने नेता योगेश भटटराईले जानकारी दिनुभयो ।

यो अभियान पार्टी एकताको रक्षाका लागि भएको बताउँदै भट्टराईले एमालेको एकता संकटमा रहेको स्पष्ट पार्दै दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसला अनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको जानकारी दिनुभयो ।

बैठकले पार्टी स्थापना दिवस, मनमोहन अधिकारी स्मृति दिवस, मदन आश्रित स्मृति दिवसमा पार्टी एकताको पक्षमा विचार गोष्ठी लगायतका कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।

साथै ४ र ५ चैतमा भएको राष्ट्रिय कार्यकर्ता भेला तथा केन्द्रीय र स्थायी कमिटी सदस्यहरुबाट आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ भने पार्टीमा उत्पन्न अन्तरविरोधको राजनीतिक, वैचारिक, संगठनात्मक पक्ष तथा पार्टीमा देखा परेको कार्यशैलीगत समस्यालाई समेटेर प्रशिक्षण सामाग्री बनाउने र देशभर पठाउने निर्णयसमेत नेपाल समूहको बैठकले गरेको छ ।

अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.