विश्व समाचार

प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत, संसद् विघटन गर्न सिफारिस

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी गठबन्धनले पेश गरेको विश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले प्रधानमन्त्रीविरुद्धको आन्दोलनमा विदेशी हात संलग्न भएको भन्दै अस्वीकार गरेको छ ।

राष्ट्रिय सभा वा संसद्को तल्लो सदनका उपसभामुख कासिम खान सुरीले अविश्वासको प्रस्तावलाई खारेज गर्दै विपक्षीले प्रस्ताव पेश गर्नेमा विदेशी संलग्नता भेटिएको र यो कदम पाकिस्तानको संविधानविपरीत भएको बताउनुभयो ।

यसबीच प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्न सिफारिस गर्नु भएको छ । उहाँले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नु भएको हो ।

सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उहाँले आफूले संसद् विघटन गर्न लागेको र त्यसको प्रक्रियाका लागि राष्ट्रपति समक्ष सिफारिस गरिसकेको जानकारी दिनुभयो ।

उहाँले संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्न समेत सिफारिस गरिएको बताउनुभयो । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उहाँले स्पष्ट पार्नु भयो । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उहाँ नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गर्नु भएको छ । उहाँले यसअघि शनिबार राष्ट्रिय सभामा अविश्वासको प्रस्तावमाथि मतदान हुनु अगाडि राष्ट्रव्यापी विरोधमा उत्रन आग्रह गर्नुभएको थियो ।

विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको थियो । उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिनुभएको छ । खानमाथिको अविश्वासको प्रस्तावमाथि आइतबार संसद्मा छलफल हुने कार्यक्रम तय भएको थियो । उहाँले आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीले चरित्र हत्या गरिरहेको आरोप पनि लगाउनु भयो ।

“म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्,” पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भन्नुभयो । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.