गण्डकीप्रदेश

समर्थन फिर्ता लिने घोषणा नगरे पनि गण्डकी प्रदेशका दुई माओवादी मन्त्रीको राजीनामा

पार्टी एकीकरणअघि नै नेकपा एमालेको सरकारलाई समर्थन दिएर एकता गरेको माओवादी केन्द्रले एकता भंग भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक घोषणा नगरे पनि गण्डकी प्रदेश सरकारका दुई माओवादी मन्त्रीले राजीनामा दिएका छन् । यसअघि माओवादी नेतृत्वमा रहेको कर्णाली प्रदेशका एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा बुझाउनुभएको हो । चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री र थापा कृषिमन्त्री हुनुहुन्थ्यो ।

उहाँहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्वयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाउनुभएको हो । राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहनुभएका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भन्दै माथिबाटै निर्णय भएर राजीनामा बुझाएको बताउनुभयो ।

राजीनामा पत्र बुझाउन पुगेका मन्त्री चुमानले संघीयताको अभ्यास सरकार संचालनमा मात्र नभई पार्टी संचालनमा पनि राम्रो नभएको बताउँदै गण्डकी प्रदेशमा यहींको संसदीय दलले सरकारमा रहने कि नरहने भनेर निर्णय गर्न पाउनुपर्नेभए पनि माथिबाट लादियो भन्नुभयो ।

जवाफमा मुख्यमन्त्री गुरूङले प्रदेश सरकारमा रहँदा राम्रो सहकार्य भएको भन्दै माओवादी पार्टीबाट मन्त्री बनेका चुमान र थापा दुबै जनाले राम्रो काम गरेको बताउनुभयो । उहाँले तपाईहरुले राम्रो काम गर्नुभएको थियो बरु एमालेकै मन्त्रीसँग बेलाबखत रिसाउनुपरेको थियो, तपाइहरुसँग त्यस्तो कहिल्यै भएन भन्नुभएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

त्यसो त माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन । गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै देखिनुभएको छ ।

प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन् । ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ । अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.